नेपाल विमान सेवा: आन्तरिक उडान रोक्ने वायुसेवा सञ्चालकको चेतावनी, सरकार के भन्छ

निजी वायुसेवाहरूले बुधवारदेखि हवाई उडान ठप्प पार्ने चेतावनी दिए पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानहरू अवरुद्ध नगरिने अपेक्षा गरेको बताएको छ।

वायुसेवा सञ्चालक सङ्घ नेपालले पत्रकार सम्मेलन गरेर सम्पूर्ण आपत्कालीन तथा नियमित उडानहरू बुधवारबाट अवरुद्ध गर्ने चेतावनी दिएको छ।

नियामक निकायले निजी वायुसेवाका विमान र हेलिकप्टरहरू क्षेत्रीय विमानस्थलमा रात्रिकालीन बास बस्नुपर्ने र त्यहाँबाट पहिलो उडान थाल्नुपर्ने निर्णय लागु गरेको विरोधमा सङ्घले यस्तो कदम चालेको बताएको छ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले भने सङ्घका प्रतिनिधिसमेत सहभागी समितिले गरेको अध्ययनका आधारमा पछिल्लो निर्णय गरिएको दाबी गरेका छन्।

निरौलाले भने, “विसं २०७८ चैत ३० गते कहाँ-कहाँ त्यस्ता विमानस्थलहरू छन् र उनीहरूको क्षमता कति छ भनेर वायुसेवाका प्रतिनिधिसमेत राखेर एउटा समिति गठन गरिएको थियो। त्यसको सिफारिस अनुसार हामीले [निर्णय] गरेको हो।”

उनले विगतमा जहाज सञ्चालनका लागि अनुमति दिँदा नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमताबारे वायुसेवा सञ्चालकहरूलाई अवगत गराइएको बताए।

उनी भने, ‘जहाज सञ्चालनका लागि प्राधिकरणबाट अनुमति लिँदा नै उहाँहरूलाई यो जहाज कहाँ बस्छ र कहाँबाट उडान गर्छ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता कति हो, बाहिरको विमानस्थलको क्षमता कति हो, कहाँ लिने भनेर उहाँहरूले भनिसकिएको हो। विगतमा त्यो कार्यान्वयन मात्रै नभएको हो।”

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

तस्बिर स्रोत,GETTY IMAGES

कानुनी कारबाहीको व्यवस्था

वायुसेवासहित सार्वजनिक हितका विभिन्न २५ क्षेत्रमा हडताल गर्न सरकारले निषेध गरेको छ।

त्यसमा हवाईअड्डा वा हवाईजहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवा पनि पर्छ।

आवश्यक सेवा सञ्चालन ऐन, २०१४ अन्तर्गत निषेध गरिएको कुनै हडताल कसैले गरेमा वा त्यसमा भाग लिएमा वा लिइराखेमा निजलाई छ महिनासम्म कैद वा २,००० रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।

आवश्यक भनिएका कुनै सेवामा हडताल गर्न वा त्यसमा भाग लिइराख्न दुरुत्साहन गरेमा निजलाई एक वर्षसम्म कैद वा १,००० रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ।

हवाई क्षेत्रलाई अवरुद्ध पारिए उक्त कानुन आकर्षित हुने बताउँदै प्राधिकरणका प्रवक्ता निरौलाले त्यस्तो अवस्था नआउने आशा राखेको बताए।

वायुसेवा सञ्चालक सङ्घ के भन्छ?

सङ्घले क्षेत्रीय विमानस्थलहरूमा राति विमान र हेलिकप्टरहरूले बास बस्नुपर्ने र त्यहाँबाट नै पहिलो उडान गर्नुपर्ने प्राधिकरणको निर्णय व्यवहारिक रूपमा कार्यान्वयन गर्न सम्भव नरहेको बताएको छ।

सङ्घको विज्ञप्तिमा भनिएको छ, “क्षेत्रीय विमानस्थलको बढोत्तरी तथा स्तरोन्नति भएतापनि हवाईजहाज तथा हेलिकप्टरको मर्मत सम्भार तथा चेकजाँच गर्ने प्राविधिक पक्षहरूलगायत अन्य विविध भौतिक पूर्वाधारहरूको विकास नभइसकेकोले हालको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहेकका विमानस्थलमा रात्रि विश्राम गरी उडान भर्न असमर्थ रहेको जानकारी गराउँछौँ।”

सङ्घले पाँच बुँदे माग अघि सर्दै त्यो पूरा नभएसम्मका लागि सबै खालका उडानहरू बुधवारबाट रोक्ने बताएको छ।

ती मागमा विमानस्थल सेवा नियमावली अनुसारको यात्रु सेवा शुल्क, अवतरण, पार्किङ र नेभिगेसन लगायतमा गरिएको शुल्कवृद्धि फिर्ता गरिनुपर्ने माग समेत छन्।

त्यसबाहेक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकप्टर सञ्चालनका लागि हेलिप्याड र मर्मतका लागि ह्याङ्गरजस्ता संरचना निर्माण गर्न भनिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई नै हवाई जहाज र हेलिकप्टरहरूको सञ्चालन हुने आधार विमानस्थल मानेर यथावत् रूपमा सेवा सञ्चालन गर्न दिन माग गरिएको छ।

नेपालको विमानस्थल

तस्बिर स्रोत,CAAN

युरोपेली युनियनद्वारा नेपाललाई हवाई सुरक्षा सूचीमा राख्दा पर्यटन प्रभावित भएको भन्दै त्यसबाट हटाउन सरकार र नियामक निकायहरूले पहल गर्नुपर्ने व्यवसायीहरूको माग रहेको छ।

मङ्गलवार पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले भने, “अहिलेको अवस्थामा बोल्न बाध्य भयौँ। हामीसँग सल्लाह नगरी यस्तो गरियो। विगतमा कहिल्यै पनि यस्तो गरिएको थिएन।”

यसै साता नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाण्डू बाहिरका विमानस्थलमा हेलिकप्टर र प्लेनहरू रात्रिकालीन बास बस्नुपर्ने र त्यहीबाट पहिलो उडान गर्नुपर्ने जनाएको थियो।

उसले हेलिकप्टरहरूलाई उक्त व्यवस्था मङ्गलवारबाट लागु गर्न निर्देशन दिएको थियो।

विमानहरूलाई भने आगामी सोमवारबाट त्यसो गर्न निर्देशन दिएको थियो।

त्रिभुवन विमानस्थलमा बढेको चापलाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको अधिकारीहरूले बताएका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close