लहानमा १६ दिने लैङ्गकि हिंसा विरुद्धको कार्यक्रम सम्पन्न

२६ मंसिर २०८१

लहानमा ३३ औं अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्ध दिवस र ७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइएको छ। लैङ्गिक हिंसा र मानव अधिकारका विषयमा जनचेतना फैलाउने उद्देश्यले आयोजित कार्यक्रममा र्याली र अन्तरक्रिया गरियो। लहान नगरपालिकाको सहकार्यमा मानव अधिकार रक्षक सञ्जालले आयोजना गरेको कार्यक्रममा समग्र जन उत्थान केन्द्र, दलित जनकल्याण युवा क्लब, जीवन ज्योति समाज, अपाङ्ग पुनःस्थापना केन्द्रलगायतका दर्जनौं संघसंस्थाको सहभागिता थियो।

कार्यक्रममा इलाका प्रशासन कार्यालय लहानका प्रमुख गोकर्ण सुयाल, लहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयकान्त झा, इलाका प्रहरी कार्यालय लहानका इन्चार्ज विष्णु प्रसाद सोती, मानव अधिकार सञ्जाल केन्द्रका अध्यक्ष उमेश बिसुकेलगायतले उपस्थिति जनाएका थिए। कार्यक्रम सञ्चालन समग्र जन उत्थान केन्द्रका अध्यक्ष राम भरोसी महतोले गरेका थिए। स्वागत मन्तव्य उपाध्यक्ष अनिता चौधरीले दिएकी थिइन्।

महिला अधिकारकर्मी रिता महतोले लैङ्गिक विभेद र बालविवाह अन्त्यका लागि अभियान गाउँस्तरसम्म पुर्याउनुपर्नेमा जोड दिइन्। यस्तै, जिल्ला समन्वय समिति सदस्य जानकी यादवले बालविवाह र हिंसा रोक्न प्रत्येक घरबाट नै सचेतना फैलाउनुपर्ने बताइन्। इलाका प्रहरी कार्यालय लहानका इन्चार्ज विष्णु प्रसाद सोतीले समाजकै कारण मानिसहरूले आत्महत्या गर्नुपरेको र महिलाहरू हिंसाको शिकार भएको तीतो यथार्थ सुनाए। “विद्यालय र सार्वजनिक स्थलमा विद्यार्थीहरूले पनि विभेदको सामना गर्नुपरेको छ,” उनले भने।

नगर उपप्रमुख राम चलितर महतोले लागूऔषध दुरुपयोगलाई लैङ्गिक हिंसाको प्रमुख कारण मान्दै पीडितलाई न्याय दिन न्याय समितिले प्रभावकारी काम गर्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा मानव अधिकार संरक्षण सञ्जालको २०२५ को नेतृत्व संयोजकको जिम्मेवारी जीवन ज्योति समाजका लक्ष्मेश्वर यादव र सचिवालय अपाङ्ग पुनःस्थापना केन्द्रका संजय अग्रवाललाई दिने घोषणा गरियो।कार्यक्रमले लैङ्गिक हिंसा र मानव अधिकारका क्षेत्रमा ठोस योगदान गर्ने विश्वास आयोजक संस्थाले व्यक्त गरेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close