डेङ्गी नेपाल चिसोमा यो रोगको जोखिम कति ?
नेपालमा गत जुलाई महिनादेखि नै डेङ्गीको बिरामीहरूको सङ्ख्या उकालो लाग्न थालेको थियो। अगस्ट महिनाको मध्यदेखि भने सङ्क्रमण ह्वात्तै बढेको सरकारी तथ्याङ्क छ। त्यसको एक महिनामा यो रोगले प्रकोपको रूप लिन थाल्यो।
अवस्था उत्कर्षमा पुग्दा पनि डेङ्गीको कुन प्रकार अर्थात् सीरोटाइप फैलिएको हो भन्नेबारे परीक्षण भएको थिएन।
यसैसाता धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले १२ जना डेङ्गीका बिरामीहरूबाट नमुना सङ्कलन गरी परीक्षण गर्यो। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गत कीटजन्य रोग प्रमुख डा. गोकर्ण दाहालका अनुसार तीमध्ये सातवटा नमुनामा सीरोटाइप वन र पाँच वटामा सीरोटाइप थ्री पुष्टि भयो।
“सानो नमुनामा दुई प्रकारको सङ्क्रमण देखियो। तर देशव्यापी रूपमा यी दुई सीरोटाइप नै फैलिएका हुन् भन्ने प्रमाणित गर्न धेरै नमुनाको परीक्षण आवश्यक पर्छ,” उनले भने।
डा. दाहालका अनुसार सातवटै प्रदेशका विभिन्न अस्पतालबाट डेङ्गी प्रकोप उत्कर्षमा रहँदाको नमुनाहरू सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याइएको छ।
“ती नमुना अध्ययनपछि कुनकुन सीरोटाइप फैलियो भन्ने कुरा पुष्टि हुन्छ।”
यद्यपि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको परीक्षणलाई आधार बनाइ नेपालमा पहिलोपटक डेङ्गीको सीरोटाइप थ्री फैलिएको विवरणहरू सार्वजनिक भएका छन्।
के हो सीरोटाइप?
सीरोटाइप कुनै पनि सूक्ष्मजीवको विभिन्न प्रकार वा प्रजातिहरूको वर्गीकरण हो।
डेङ्गी भाइरस सङ्क्रमित लामखुट्टेको टोकाइबाट सर्ने यस रोग चार प्रकारका छन्। जसलाई सीरोटाइप वन, सीरोटाइप टू, सीरोटाइप थ्री र सीरोटाइप फोरमा वर्गीकरण गरिएको छ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार एकजना मानिसलाई पटकपटक गरी यी चारवटै प्रकारका डेङ्गीले सङ्क्रमण गर्न सक्छ।
प्रत्येक वर्ष विश्वभरि १० देखि ४० करोड मानिसहरूलाई डेङ्गी सङ्क्रमण हुने आकलन गरिएको छ।