सप्तरीमा आगलागी, २३ लाख बराबरको क्षति

सप्तरी,१३जेठ । सप्तरीको छिन्नमस्ता गाउँँपालिका–५ लोखरम भटोत्तरमा आज बिहान आगलागी हुँदा ६ वटा घरमा क्षति पुगेको छ। आगलागीका कारण महेन्द्र कामैत, शङ्कर कामैत, शत्रुघ्न कामैत र भरत कामैतको घरमा पूर्णरुपमा क्षति भएको छ।आगलागीबाट गाउँबस्तीलाई जोगाउन बेचन कामैत र शनिचर कामैतको घरसमेत भत्काउनुपरेको छिन्नमस्ता गाउँपालिका–५ का वडाध्यक्ष जयप्रकाश ठाकुरले बताए। उनका अनुसार गुहाली घरबाट सल्केको आगो बिहान ३ बजे महेन्द्रले थाहा पाएर गुहार मागेपछि करिब तीन घण्टाको प्रयासमा स्थानीयले आगो नियन्त्रणमा लिएका हुन्।चौपायालाई लामखुट्टेबाट जोगाउन बालिएको घुरबाट आगो सल्किएको महेन्द्रले बताए। आगलागीबाट मानवीय क्षति नभए पनि दुई खसी र दुई बाख्रा जलेर मरेका छन्।आगलागीका कारण ती परिवारको घर र गोठसहित लत्ताकपडा, फर्निचर, अन्नपात, भाँडाकुँडा जल्दा रु २३ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। बारुणयन्त्र पुग्ने बाटो नभएकाले बढी क्षति भएको भरत कामैतले बताए।