“चितवनको पहिलो आवाज”-मनोज पन्त
वीरगंज-आवाजको दुनियाँमा सुपरिचित नाम हो ‘मनोज पन्त’ । अविछिन्नरुपमा दुई दशकदेखि रेडियोको क्षेत्रमा कृयाशील हुँदै आइरहेका रेडियोकर्मी मनोज पन्त चितवनको पहिलो रेडियो स्टेसन सिनर्जी एफएम ९१.६ मेगाहर्जमा पहिलो पटक आवाज दिने व्यक्ति चितवनको पहिलो आवाज हुन् ।
वि.सं. २०५७ मा हेटौँडाको मनकामना एफएम ९७.९ मेगाहर्जबाट आफ्नो स्वर यात्राको सुरुआत गरेका पन्तले सिनर्जी एफएम, टाइम्स एफएम, स्टार एफएम, नारायणी एफ हुँदै हाल भरतपुर–१० चितवनस्थित कालिका एफएम ९५.२ मा कार्यरत छन्
छापा पत्रकारिता मार्फत करियर सुरु गरेका मनोज पन्त चितवन, नवलपरासीका केही स्कुल अनि कलेजहरुमा पत्रकारिता पनि पढाउँदै आइरहेका छन् । उद्घोषण कलासँग सम्बन्धित उनको पुस्तक “बोल, मनको कुरा खोल”को दोश्रो संस्करण समेत सार्वजनिक भैसकेको छ । व्यक्तित्व विकास, नेतृत्व विकास तथा उद्घोषण तालिमका कुसल प्रशिक्षकसमेत रहेका सञ्चार जगतका चिरपरिचित व्यक्तित्व, वरिष्ठ रेडियोकर्मी मनोज पन्तसँग गरिएको कुराकानी ।
हेटौँडाको मनकामना एफएमबाट कुरा सुरु गरौँ न, एफएमको क्षेत्रमा कसरी प्रवेश गर्नु भयो ?
–कुरा कहाँबाट सुरु गरौँ, २०५७ सालतिर म एउटा प्रोजेक्टको कामको सिलसिलामा मकवानपुरको नेवारपानी र राक्सिराङको जिर्खे डाँडामा काम गर्थेँ । त्यतिबेला एफएम सुन्दै जाँदा उपत्यका बाहिरको पहिलो व्यवसायिक रेडियो मनकामना एफएम सुन्न पुगेँ । प्रोजेक्टको जागिर अगाडि मैले मनकामना, सिनेमा टाइम्स, गीतान्जली, श्रृंगारलगायतका सिनेमासँग सम्बन्धित मासिक पत्रिकामा सम्वाददाता हुँदै सम्पादक समेतको जिम्मेवारी सम्हालेको थिएँ । यसैबाट प्राप्त अनुभवलाई नयाँ टेक्नोलोजी एफएममा प्रयोग गर्न चाहँे र मनकामना एफएममा कोसिस गरेँ । बिना तालिम, भोइस टेस्टको आधारमा म सेलेक्ट भएँ र यसरी रेडियोको यात्रा सुरुआत भयो ।
अनि मनकामना एफएमबाट चितवनको सिनर्जी एफएम कसरी आइपुग्नु भयो नि ?
– यसको कथा बढो रमाइलो छ । म मनकामना एफएममा एक दिन “मनकामनाको मध्यान्ह” भन्ने कार्यक्रम सञ्चालन गर्दै थिएँ । त्यति बेला चितवनबाट एउटा टोली त्यहाँ आइपुगेको थियो । चितवनमा पहिलो पटक रेडियो स्थापना गर्ने उद्धेश्यले सो टोली स्थलगत अवलोकनका लागि हेटौँडा आएको थियो । सो टोलीमा सहन प्रधान, शेखर श्रेष्ठ, लवि मल्ल, मनेश चुके लगायतका थिए । यही टोलीले नै चितवनमा पहिलो पटक सिनर्जी एफएम स्थापना गरेको थियो । सहन प्रधानसँगको चिनजान पछि म मनकामना एफएमबाट सिनर्जीमा आइपुगेको हुँ ।
चितवनको रेडियोमा पहिलो पटक बोलेको कारण तपाईंलाई “चितवनको पहिलो आवाज” पनि भनिन्छ । साच्चै पहिलो पटक सिनर्जीमा बोल्दा कस्तो अनुभव भयो ?
– सिनर्जी भन्दा अगाडि मैले मनकामना एफएममा कार्यक्रम प्रस्तोताकोरुपमा अनुभव सँगालेको थिएँ । त्यसैले सिनर्जीमा बोल्दा अरु साथीहरू भन्दा म अनुभवी थिएँ । तसर्थ सिनर्जीमा पहिलो पटक बोल्दा त्यस्तो डरको कुनै अनुभूति भएन । परीक्षण प्रसारणको पहिलो दिनमा पहिलो पटक अनएयर रुममा बोलेको क्षण मेरो मानसपटलमा अझै पनि ताजा नै छ । त्यतिबेला हाम्रो परीक्षण प्रसारण कस्तो सुनिएको छ । हामीलाई फोन गरेर प्रतिक्रिया दिनुहोस् भनेर बोलेको थिएँ । आफ्नै गृह जिल्लाको पहिलो रेडियोमा पहिलो पटक आवाज दिन पाउँदा मलाई गौरवान्वित महसुस भएको थियो । अहिले मलाई यही परिचयले धेरैले चिन्छन् ।
रेडियोको क्रेज अहिले घट्यो भन्छन् हो र ? पहिले कस्तो क्रेज थियो नि ?
– विसं २०५७÷५८ सालतिर एफएम रेडियोको क्रेज अर्कै थियो । आरजेहरुलाई भेट्न अनि एक झलक देख्न रेडियोका श्रोता, फ्यानहरु मरि मेट्थे । हात काटेर रगतको चिट्ठीहरु पठाउँथे, उपहार, कोशेली लिएर भेट्न आउँथे । फोटो खिच्न रिलवाला क्यामरा बोकेर आउथे । आज साक्षात दर्शन गर्न पाएँ भन्नेहरु पनि थिए । त्यति बेलाको कुरा सम्झिँदा नि अचम्म लागेर आउँछ । पहिले जस्तो त अहिले छैन । तैपनि नयाँ नयाँ रेडियो स्टेशनहरु स्थापना हुने क्रम जारी नै छ । युवा पुस्तामा रेडियोमा बोल्ने चाहना उस्तै देखिन्छ । रेडियो सुन्यो लामो समयसम्म विज्ञापन बजेको सुनिन्छ । रेडियोको समाचार सुन्नेको समूह उत्तिकै छ । यसरी हेर्दा क्रेज घटेको खोइ कसरी भन्न सकिन्छ र ?
तपाईं त रेडियोमा बोल्ने मान्छे । लेखक चाहीँ कसरी बन्न पुग्नु भयो ?
– खासमा म अध्ययन गर्न र लेख्न औधी मन पराउँछु । रेडियोको क्षेत्रमा नलागेको भए सायद म साहित्यतिर हुन्थेँ । रेडियोमा काम गर्दा गर्दै उद्घोषण तालिमहरुमा प्रशिक्षण दिन थालेँ । यसै क्रममा स्कुल, कलेजतिर पत्रकारिताको विषयमा अध्यापन गर्ने थालेँ । तालिमको लागि विषयवस्तु तयारी गर्दै जाँदा पुस्तक लेख्ने कुरा दिमागमा सवार भयो । अनि विद्यार्थीहरुले पनि यो कोर्सको किताब छैन भनेपछि ममा पुस्तक लेख्ने हुटहुटी जागेको हो । त्यसैको प्रतिफल स्वरुप “बोल, मनको कुरा खोल” पुस्तकको जन्म भएको हो ।
थोरै तपाईंको व्यक्तिगत कुरा गरौँ है । तपाईं र तपाईंको जीवन सङ्गीनी पनि एउटै क्षेत्रमा हुनुहुन्छ, एउटै संस्थामा हुनुहुन्छ । श्रीमान्श्री/मती एउटै क्षेत्रमा हुँदा कस्तो अनुभव हुँदो रहेछ । यस विषयमा तपाईंको धारणा के छ ?
– श्रीमान् श्रीमती एउटै क्षेत्रमा भएको मलाई सारै राम्रो लाग्छ । किन भने सम्बन्धित क्षेत्रको बारेमा बुझ्न बुझाउन सजिलो हुन्छ । एउटै काम कहिलेकाहीँ बाँडफाँड गरेर गर्न पनि सकिन्छ । एकअर्कामा सहयोगको भावनाको विकास हुन्छ । यस हिसाबले हेर्दा एउटै क्षेत्रमा भएका श्रीमान् श्रीमती सफल पनि हुन्छन् ।
पहिलेको रेडियो र अहिलेको रेडियोमा के फरक छ ?
– प्रविधिको विकाससंगै धेरै नै परिवर्तन छ। रेडियो सुन्न पहिले रेडियो नै आवश्यक थियो । तर, अहिले अनलाइन मार्फत विभिन्न माध्यमबाट विश्वको जुनसुकै कुनामा रेडियो सुन्न सकिन्छ । सुरुमा क्यासेट चक्का, सिडी, मिनि डिस्क, डिजिटल अडियो टेप मार्फत गीत अनि विज्ञापन प्रसारण हुन्थ्यो । अहिले कम्प्युटर मार्फत सबै जसो काम हुन्छ । गायक, गायिका आफ्नो गीतको क्यासेट चक्का बोकेर, पेन ड्राइभमा गीत लिएर एफएम आउँथे । अहिले युट्युबको भिडियोलाई अडियोमा कन्भर्ट गरेर प्रसारण गर्न सहज छ । सेल्फअपरेटिङ सिस्टम मार्फत आफै प्राविधिक आफै रेडियो कार्यक्रम प्रस्तोताको भूमिका निर्वाह गर्न सकिन्छ । रेडियो कार्यक्रमलाई फेसबुक, टिकटक, युट्युब मार्फत लाइभ गर्न सकिन्छ । यस्ता धेरै सुविधा प्रविधिले दिएको छ ।
अन्त्यमा केही भन्न चाहनु हुन्छ कि ?
– रेडियोबारे विगतका केही कुरा शेयर गर्ने अवसर दिनुभएकोमा धन्यवाद । पछिल्लो समयमा बोल्ने कलाप्रति हरेक क्षेत्रका व्यक्तिहरुको चासो बढ्दै गइरहेको छ । औपचारिक सभा समारोहमा कसरी बोल्नुपर्छ ? यस्ता विषयमा कार्यक्रमहरु आयोजना गरिनु पर्दछ । अन्त्यमा, रेडियो सुनौँ, सुसूचित बनौँ । धन्यवाद ।