तारा एयर विमान दुर्घटना अपडेट २२ जनामध्ये १६ जनाको शव भेटियो
काठमाडौं,१६ जेठ । तारा एयरको विमान दुर्घटनामा परेका १६ जनाको शव भेटिएको छ । विमानमा सवार २२ जनामध्ये हालसम्म १६ जनाको शव फेला परेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता देवचन्द्र लाल कर्णले जानकारी दिनुभयो । उहाँका अनुसार १२ जनाको शव छरिएको अवस्थामा र २ जनाको शव चेपिएको अवस्थामा फेला परेको छ ।
अन्यको खोजी जारी रहेको प्राधिकरणले जनाएको छ । शव तथा सुरक्षित रहेका सामान संकलन गरी हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी भएको कर्णले बताउनुभयो । हिजो बिहानदेखि हराएको तारा एयरको नाइन एन ए इटी कलसाइनको विमान आज बिहान मुस्ताङको थासाङमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो।
हिजो विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोमका लागि उडेको विमान १० बजेर ७ मिनेटदेखि सम्पर्कविहीन भएको थियो। विमानमा धनुषाको मिथिला नगरपालिका ११ लोटागाउँका एकै परिवारका ७ जना रहेका थिए । विमान दुर्घटनाग्रस्त भएपछि गाउँ नै शोकमा डुबेको छ। गोरखाको शहीद लखन गाउँपालिका–५ को तिनपानेका पनि एकै परिवारका ४ जना रहेका थिए।जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए भने को पाइलट उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा रहेको तारा एयरले जनाएको छ ।