११ वटा उपमहानगरमध्ये २ वटामा स्वतन्त्रको अग्रता

काठमाण्डाै – ११ वटा उपमहानगरपालिकामध्ये धेरैजसोमा पाँच दलीय गठबन्धनका उम्मेदवारले अग्रता बनाएका छन् । धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले नेपाली कांग्रेसका नृपबहादुर वडलाई पछि पार्नुभएको छ । नेपालगञ्ज उपमहानगरपालिकामा गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार प्रशान्त विष्ट नेकपा एमालेका पशुपतिदयाल मिश्रा भन्दा दोब्बर मतले अघि हुनुहुुन्छ ।

दाङको घोराही उपमहानगरपालिकामा पनि गठबन्धनका तर्फबाट माओवादीका हेमराज शर्माले एमालेका उम्मेदवार नरुलाल चौधरीलाई पछाडि पार्नुभएको छ । माओवादीका हेमराजले एमालेका नरुलालसँगको अग्रता फराकिलो बनाउँदै लग्नुभएको हो । तुलसीपुर उपमहानगरमा भने एउटा वडामा मतदान नै रोकिएकाले मतगणना सुरु भएको छैन ।

बुटबल उपमहानगरपालिकामा पनि कांग्रेसका खेलराज भण्डारी एमालेका बाबुराम भट्टराई भन्दा झन्डै दोब्बर मतले अघि हुनुहुुन्छ । हेटाैँडा उपमहानरपालिकामा गठबन्धनको तर्फबाट एकीकृत समाजवादीकी मीना लामाले एमालेका उम्मेदवार अनन्तप्रसाद पौडेललाई पछि पार्नुभएको छ ।

बाराको जितपुर सिमरामा गठबन्धनका तर्फबाट माओवादीका राजन पौडेलले एमालेकी सरस्वती देवी चौधरीलाई पछि पार्नुभएको छ । बाराकै अर्को कलैयामा भने गठबन्धनको तर्फबाट कांग्रेसका उम्मदवार राजेश राय यादव भन्दा एमालेका विनोद प्रसाद साह अघि हुनुहुन्छ ।

जनकपुरमा गठबन्धन र एमालेका उम्मेदवारलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले अग्रता बनाउनुभएको छ । सुनसरीको धरान उपमहानगरपालिकामा एमालेका मञ्जु भण्डारीलाई नेपाली कांग्रेसका किशोर राईले डेढ सय मतले पछि पारिरहनुभएको छ । सुनसरीकै अर्को इटहरी उपमहानगरमा पनि गठबन्धनका उम्मेदवार हेमकर्ण पौडेलले एमालेका उम्मेदवार यामकुमार सुब्बालाई पछि पार्नुभएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close