साताको दुई दिन सार्वजनिक बिदा ।

सरकारले साताको दुई दिन सार्वजनिक बिदा दिने अन्तिम तयारी गरेको छ ।

अर्थमन्त्रालयमा बसेको विज्ञ र सरोकारवालाहरुको बैठकले कम्तीमा तीन महिनाका लागि शनिबार र आइतबार बिदा दिन सरकारलाई प्रस्ताव गरेको हो ।खासगरी इन्धन खपत घटाउने उद्देश्यसहित बैठकले आगामी तीन महिनाका लागि सरकारी र सार्वजनिक कार्यालयमा शनिबार र आइतबार बिदा दिने व्यवस्था मिलाउने निर्णय गरेको हो ।

यस विषयमा मन्त्रिपरिषद्ले निर्णय गर्ने र आगामी नयाँ वर्षदेखि लागू हुने अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ ।ती बिदाका दिनमा अत्यावश्यकबाहेकका सरकारी साधन नचलाउने निर्णय पनि बैठकले गरेको छ । बिदामा सरकारी सवारीसाधन चलाउन पास वितरण नगर्ने निर्णयसमेत भएको छ ।अर्थ मन्त्रालयको बैठकले सरकारी निकायहरूको इन्धन खर्च २० प्रतिशतले घटाउने निर्णय गरेको छ ।

यता, नेपाल राष्ट्र बैंकले पनि इन्धन खपत ४० प्रतिशतले घटाउने निर्णय गरिसकेको छ । राष्ट्र बैंकको व्यवस्थापनले सबै तहका कर्मचारीमा लागू हुने गरी इन्धन खपत ४० प्रतिशतले घटाउने निर्णय गरेको एक उच्च अधिकारीले जानकारी दिए ।एउटा सवारीसाधन दुईभन्दा बढीले प्रयोग गर्ने, कार्यक्रममा जाँदा सार्वजनिक सवारीसाधन प्रयोग गर्नेलगायत विधि प्रयोग गरेर इन्धन खपत घटाइने निर्णय भएको छ । यो निर्णय कार्यान्वयन सुरु भइसकेको बताइएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close