जयवीरले गरे क्रियाशील सदस्यता नवीकरण, डडेल्धुरामा देउवा विरासत धान्न खोजेका हुन् ?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पुत्र जयवीरसिंह देउवाले डडेल्धुराबाट क्रियाशील सदस्यता नवीकरणको फर्म भरेका छन् । अघिल्लो महाधिवेशनअघि पहिलोपटक सदस्यता लिएका जयवीरले यसपटक नवीकरणको फर्म भरेका हुन् ।
आरजु देउवाकी पत्नी, भानु भतिजा र जयवीर छोरा हुन् ।
यस वडाबाट अघिल्लोपटक १८० सदस्यले नवीकरण गरेका थिए । १०/१५ जनाको मृत्यु भएको र केही बीपी कांग्रेसतिर गएपछि सदस्यता नवीकरण घटेको पालिका कार्यसमितिका नेता बताउँछन् । कांग्रेस छाडेर अर्को पार्टीबाट उम्मेदवार बनेकाहरूको अनुशासनको कारबाहीको विषय समेत अझै टुंगो लागेको छैन । यसैले पनि सदस्यता नवीकरणमा समस्या भएको नेताहरू बताउँछन् । यसपटक १२० हाराहारीको सदस्यता नवीकरण हुने बुझिएको छ ।
गन्यापधुराका कांग्रेस सभापति इन्द्रबहादुर कार्कीले अब सदस्यता नवीकरण र वितरणको काममा ढिलाइ नहुने बताए । देउवानिकट स्रोत भने पार्टी सदस्यता नवीकरण गरे पनि महाधिवेशन प्रतिनिधि बनेर आए मात्रै जयवीरको राजनीतिक यात्रा कस्तो हुने भनेर प्रस्ट हुने बताउँछ ।
‘यसअघि पहिलोपटक जयवीरले क्रियाशील सदस्यता लिनुभएको हो । तर, महाधिवेशन प्रतिनिधि हुनुभएको छैन । राजनीतिमा सक्रियतापूर्वक लाग्ने कि नलाग्ने भन्ने अधिवेशन नजिक आएपछि बल्ल थाहा हुन्छ,’ देउवानिकट स्रोतले भन्यो, ‘राजनीतिक परिवार भएकाले उहाँलाई जतिखेर पनि राजनीतिमा आउने सुविधा छ । परिवार नै राजनीतिक गतिविधिमा भएपछि बाहिर बस्नुहुन्छ जस्तो लाग्दैन । महाधिवेशनको वर्ष नजिकिएपछि जयवीरले के गर्नुहुन्छ भन्ने देखिन्छ । अहिले नै भन्न सकिँदैन ।’
२०७८ मा पहिलोपटक क्रियाशील सदस्यता लिए पनि जयवीर राजनीतिमा देखिने गरी सक्रिय भएनन् । उनलाई क्षेत्रीय प्रतिनिधि र महाधिवेशन प्रतिनिधि बनाउने चर्चा थियो । तर, १४ औं महाधिवेशन हुने वर्ष २०७८ भदौमा जयवीरले क्रियाशील सदस्यता मात्रै लिएका थिए ।
जयवीरको क्रियाशील सदस्यता गन्यापधुरा गाउँपालिका– १ मा छ । पहिलोपटक सदस्यता लिँदा उनको सदस्यता नम्बर १६६ थियो । यो प्रतिनिधि सभा १ को प्रदेश सभा क्षेत्र नम्बर २ मा पर्ने गाउँपालिका हो । वडाबाटै नाम सिफारिस गएपछि जयवीरले क्रियाशील सदस्यता लिएका थिए ।
क्रियाशील सदस्यता लिए पनि जयवीर यो झण्डै ४ वर्ष कांग्रेसको सक्रिय राजनीतिमा आएका छैनन् । जयवीर अहिले ३० वर्ष हाराहारीको भएका छन् । जयवीरले बेलायतबाट राजनीति शास्त्रमा एमए गरेका छन् । उनी व्यापार–व्यवसायमा सक्रिय छन् ।
खुलेर नआए पनि जयवीर राजनीतिक गतिविधिप्रति जानकार रहेको देउवानिकट स्रोत बताउँछ ।
‘सक्रिय राजनीतिमा छैनन् भन्दैमा जयवीर राजनीतिबाट टाढा छन् भन्ने अर्थ लाग्दैन । बुवा ठूलो पार्टीको सभापति, पटक–पटक प्रधानमन्त्री भएको र आमा पनि सक्रिय राजनीतिमा रहेकाले जयवीर पनि टाढा हुने कुरै भएन,’ उक्त स्रोतले भन्यो, ‘यता सक्रिय नहुँदा उनी आफ्नो व्यापार–व्यवसायमा छन् । तर, राजनीतिमा आउन इच्छा व्यक्त गरेको दिन राजनीतिको ढोका खुला हुने स्थिति छ ।’
देउवा नउठे को उठ्छ डडेल्धुरामा ?
डडेल्धुरा कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला र परम्परागत निर्वाचन क्षेत्र हो । देउवाले २०४८ सालयता यही निर्वाचन क्षेत्रबाट चुनाव जित्दै आएका छन् । लगातार दुईपटक सभापति जितेका देउवालाई पुनः विधानले यही पदमा उठ्न रोक्नेछ ।
यसैले पार्टीको उच्च पदमा नभएपछि देउवा फेरि डडेल्धुराबाट उठ्छन् वा उठ्दैनन् भन्ने विषय टुंगो लागिसकेको छैन । फेरि एकपटक आफैं अगाडि सर्छन्, समानुपातिकमा बस्छन् वा आरजू, जयवीर तथा अन्य कुनै नेतालाई अगाडि सार्छन् भन्ने टुंगो लागेको छैन । देउवाले डडेल्धुरा पुगेर अब निर्वाचन नलड्ने आशय भने व्यक्त गरिसकेका छन् ।
तर, देउवानिकट स्रोत भने चुनावबारे अहिले कुनै टुंगो नभएको बताउँछ ।
‘सभापतिमा नउठे पनि संसदीय राजनीतिबारे अहिले नै आकलन गर्न सकिँदैन । सभापति विधानले दिँदैन, उठ्नुहुन्न भन्न पाइयो । संसदीय राजनीतिको कुरामा अहिले नै केही भन्नुभएको छैन ।’