माघमा ६ दिन संसद्: १८ गते अध्यादेश पेस, अन्तिम साता तीन विधेयक पारित गरिने

आगामी शुक्रवार(माघ १८गते)बाट सङ्घीय संसद्को हिउँदे अधिवेशन सुरु हुँदै छ।  दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाएपछि हुन लागेको यो पहिलो हिउँदे अधिवेशन हो।

राजनीतिक खिचातानीका सिकार भएर गुज्रिएका अघिल्ला संसद् अधिवेशनहरूले प्रभावकारी काम गर्न नसकेको र अत्यावश्यक कानुनहरू पनि निर्माण हुन नसकेको भन्दै चिन्ता प्रकट हुने गरेको छ।

यस्तोमा दुई ठुला दल मिलेर सरकार चलाइरहेका बेला हुन लागेको यो अधिवेशनमा मौकाको सदुपयोग गर्नुपर्ने जानकारहरूको आग्रह छ।

संसदीय प्रणालीमा वर्षे अधिवेशनलाई ‘बजेट अधिवेशन’ अर्थात् बजेट दिने र त्यसमा आवश्यक छलफल गर्ने  र हिउँदे अधिवेशनलाई ‘विधेयक अधिवेशन’ अर्थात् कानुन बनाउने अधिवेशनका रूपमा लिइन्छ। वर्षे अधिवेशनको धेरै समय बजेटसँग सम्बन्धित विषयमा खर्च हुने भएकाले कानुन बनाउने विषयमा हिउँदे अधिवेशनको समय उपयुक्त हुने मानिएकाले यसो भनिएको हो ।

यस्तोमा यस पटकको हिउँदे अधिवेशनले कत्तिको कानुन निर्माणमा समय खर्चन्छ त्यो भने समयले बताउने छ।

अहिले आह्वान भएको हिउँदे अधिवेशनका लागि प्रतिनिधिसभाको पाक्षिक सम्भावित कार्यसूची भने आइसकेको छ। संसद् सचिवालयले जारी गरेको कार्यसूची अनुसार माघ महिनामा ६ दिन प्रतिनिधिसभाको बैठक बस्ने तय गरिएको छ। जसअनुसार माघ १८, २४, २५, २७, २८ र २९ गते बैठक बस्ने तय भएको छ।

पहिलो दिनको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको मन्तव्यसहित दलीय आधारमा मन्तव्यको कार्यसूची छ। त्यसपछि सोही दिन सरकारले संसद् नभएका बेला जारी गरेका अध्यादेश पेस गर्ने कार्यसूची छ।

२४ गतेको बैठकमा शून्य र विशेष समय, समितिहरूमा विधेयकमाथि भएका प्रगतिको प्रतिवेदन पेस गर्ने, विभिन्न वार्षिक प्रतिवेदन पेस गर्ने र अघिल्लो बैठकको दिन पेस भएका अध्यादेश स्वीकृति गर्ने कार्यसूची छ।

२५ गतेको बैठकमा शून्य समय, समितिका प्रतिवेदन पेस र दफावार छलफल तथा पारित गर्ने कार्यसूची छ ।

त्यसपछि २७, २८ र २९ गतेका बैठकमा नियमित कार्यसूचीसँगै तीन वटा संशोधन विधेयकहरू पारित गर्ने कार्यसूची छन् ।

यस्तो छ प्रतिनिधिसभाको पाक्षिक कार्यसूची

 

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close