रवि लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौंमा पनि मुद्दा दर्ता, १ अर्ब १९ करोड बिगो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा उनीहरूलाई प्रतिवादी बनाइएको हो । जिल्ला सरकारी वकिल कार्यालयले आइतबार दर्ता गरेको अभियोजन पत्रमा १ अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रूपैयाँ बिगो मागदाबी गरिएको छ ।

स्वर्णलक्ष्मीको रकम अपचलनमा संलग्न रविसहित उनका पार्टनर एवं गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, पूर्वडीआईजी छविलाल जोशी, जीबी राईका साढुभाइ दीपक लामा, कोषाध्यक्ष कुमार रम्तेल र व्यवस्थापक नवीन अछामीसहित ३९ जनालाई प्रतिवादी बनाइएको छ ।

अदालतका स्रेस्तेदार रामु शर्माले सरकारी वकिल कार्यालयको अभियोजन पत्र दर्ता भएको जानकारी दिए । रकम अपचलनमा संलग्न रहेको आरोपमा माओवादी विद्यार्थी नेता दीपेश पुनकी पत्नी सविना आले मगरलाई पनि प्रतिवादी बनाइएको छ ।

स्वर्णलक्ष्मीमा पाँच हजार ६६९ जना बचतकर्ताले २ अर्ब ६५ करोड ९५ लाख ५९ हजार रूपैयाँ जम्मा गरेको पाइएको छ । कालिमाटीमा केन्द्रीय कार्यालय रहेको स्वर्णलक्ष्मीको शाखाहरू न्युरोड, महाराजगञ्ज, स्वयम्भू र जोरपाटीमा समेत सञ्चालनमा थिए । स्वर्णलक्ष्मीबाट गोरखा मिडिया नेटवर्कमा एक करोड ८२ लाख लगेर अपचलन गरेको पाइएको छ ।

स्वर्णलक्ष्मीबाट रवि र जीबीको संयुक्त नाममा जारी भएको ऋणमा ‘फोर ह्विलर लोन’ र ‘ईको सेभेन सिटर भ्यान’ बापतको ६१ लाख फिर्ता गर्न बाँकी रहेको छ । स्वर्णलक्ष्मीबाट जीबीले सञ्चालन गरेको हर्बो इन्टरनेशनल प्रालिसहित १२ वटा कम्पनीहरूमा समेत ऋण प्रवाह भएको देखिन्छ ।

देवदीप एग्रिकल्चर, मन्दरा टुर्स एण्ड एक्सपिडिसन, गोरखा हर्वल प्रोडक्सन, मन्दरा टुर्स एन्ड ट्राभल्स, कुमकुम हर्वल उद्योग, न्यु सुलक्स अफसेट, गोरखा ग्रुप अफ कम्पनिज, सारेगामा रेकर्डस् र भगवती बालुवाखानीसहित १२ वटा कम्पनीमा ६४ करोड भन्दा बढी ऋण प्रवाह गरेको अभियोजनपत्रमा उल्लेख छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close