एमाले–माओवादी बैठक: ओली कांग्रेसप्रति नरम, माओवादीमा तत्काल विशेष महाधिवेशन बोलाउने आवाज चर्को
मुलुकका दुई ठुला कम्युनिस्ट पार्टीहरूको केन्द्रीय कमिटी बैठक आज एकै दिन सुरु भएका छन् । सत्तारुढ नेकपा (एमाले) र प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आजदेखि बसेका हुन् । दुवै दलका अध्यक्षले आज नै राजनीतिक प्रतिवेदन बैठक समक्ष प्रस्तुत गर्नुभएको छ ।
एमाले केन्द्रीय कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय च्या सलमा आज सुरु भएको केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ४३ पृष्ठ लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।
प्रतिवेदनमा नयाँ राजनीतिक कोर्स–एमाले र नेपाली कांग्रेससँगको गठबन्धनको आवश्यकता, औचित्य र अवसर, गठबन्धनपछिका छ महिना, अस्थिरता, अराजकता र प्रायोजित निराशाका प्रयास, बदलिँदो विश्व परिवेश र नेपालको परराष्ट्र नीति, उपनिर्वाचनको समीक्षा र निर्णायक राष्ट्रिय शक्तिको निर्माण आदि विषयवस्तु रहेका छन् ।
नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले समसामयिक विकसित नेपाली राजनीतिको घटनाक्रममा आधारित भएर प्रतिवेदन पेस गरेको बताउनुभएको छ ।
जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गुटबन्दी र अराजकता स्वीकार्य नहुने बताउनु भएको छ । अध्यक्ष ओलीले लोकतन्त्रको नाममा गुटबन्दी गरेर भाँडभैलो मच्चाउने कामले पार्टीलाई बलियो नबनाउने टिप्पणी गर्नुभएको छ ।
नेपाली कांग्रेससँगको गठबन्धनको आवश्यकता अध्यक्ष ओलीको प्रतिवेदनमा समेटिएको छ । ओली कांग्रेसप्रति नरम पनि देखिनुभएको छ । सत्ता सहयात्री नेपाली कांग्रेसलाई एमालेले हेर्ने दृष्टिकोण कस्तो छ त ? भन्ने हाम्रो प्रश्नमा प्रचार विभाग प्रमुख गौतमले कांग्रेससँग सत्तामा सहकार्य र एकता राजनीतिमा प्रतिस्पर्धा भएकाले पार्टीभित्र अन्यौलता केही नभएको दाबी गर्नुहुन्छ ।
यता, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र चरम व्यक्तिवादी अराजकता मौलाएको बताउनुभएको छ ।
’प्रचण्ड’ले सुशासनको पक्षमा उभिँदा कांग्रेस र एमालेले सरकार ढालेको पनि बताउनुभएको छ । केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष प्रचण्डले यस्तो दाबी गर्नुभएको हो ।
माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा १८÷२० वर्षपछि पहिलोपटक पार्टीमा उत्साह आएको रिपोर्टिङ पनि गरिएको छ ।
माओवादी केन्द्रका सचिव एवं पूर्वमन्त्री देवेन्द्र पौडेलले आजदेखि सुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकमा सरकारका काम कारबाही र क्रियाकलापबारे पनि छलफल हुने बताउनुहुन्छ । प्रतिपक्षीको हैसियतले जनताको आवाजलाई कुन कुन कुरामा केन्द्रित गरेर उठाउने भन्नेबारे बैठकमा छलफल हुने पौडेलको भनाई छ ।
माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा प्रदेश अध्यक्षहरूले तत्काल विशेष महाधिवेशन बोलाउन दबाब दिएका छन् ।
बैठकमा आफ्नो रिपोर्टिङ प्रस्तुत गर्दै प्रदेश अध्यक्षहरूले तत्काल विशेष महाधिवेशन बोलाउनुपर्ने तल्लो तहबाट सुझाव आएको भन्दै नेतृत्वलाई दबाब दिएका हुन् । यस्तै पार्टीभित्रको आन्तरिक विवाद केन्द्रीय समितिबाट नभई महाधिवेशनबाट हल गर्न पनि उनीहरूको सुझाव छ ।
सचिव देवेन्द्र पौडेलले विशेष महाधिवेशन गर्ने वा नियमित महाधिवेशन गर्नेबारे बैठकमा छलफल हुने बताउनुहुन्छ । तर, माओवादीको अर्को केन्द्रीय समिति बैठकले मात्र महाधिवेशनको मिति तय गर्ने पनि बताइएको छ ।
साथै नेतृत्व बारेको प्रश्नमा उहाँले प्रमुख नेतृत्व फेर्नेबारे कहीँ कतै छलफल नभएकाले अध्यक्ष प्रचण्ड नै रहने दाबी गर्नुभएको छ ।
माओवादी केन्द्रको जारी बैठकमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङ पनि सहभागी हुनुहुन्छ । पुन अध्यक्ष प्रचण्डसँगै रहेको वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महासचिवको लाइनमा बस्नुभएको थियो । उपराष्ट्रपति कार्यकाल समाप्त भएपछि पनि पुनः राजनीतिमा सक्रिय हुने उहाँ पहिलो नेता हुनुहुन्छ ।
संसद्को हिउँदे अधिवेशनको पूर्व सन्ध्यामा बसेका दुवै राजनीतिक दलको बैठकले संविधान संशोधन लगायतका प्रमुख एजेण्डामा ठोस धारणा तय गर्ने अपेक्षा गरिएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस