प्रस्तावित १७ राजदूतको आजदेखि सुनुवाइ सुरु हुँदै

काठमाडौं : प्रस्तावित १७ जना राजदूतको सुनुवाइ आजदेखि शुरु हुने भएको छ। त्यसका लागि संसदीय सुनुवाइ समितिको बैठक बिहान ११ बजे बस्ने संसदीय सुनुवाइ समिति सभापति ईश्वरीदेवि न्यौपानेले जानकारी दिइन्।

समितिले आजको सुनुवाइ विभिन्न चार देशका लागि प्रस्तावित नेपाली राजदूतहरुको सुनुवाइ गर्ने कार्यसुचि रहेको जनाएको छ। पहिलो दिन सुनुवाइका लागि चीनका लागि प्रस्तावित प्राडा कृष्णप्रसाद ओली, भारतका लागि शंकर शर्मा, जर्मनीका लागि डा शैल रूपाखेती र डेनमार्कका लागि प्रस्तावित सुम्निमा तुलाधरलाई बोलाइएको छ । यसअघि शुक्रबार बसेको समितिको बैठकमा प्रस्तावित राजदूतविरुद्ध परेका उजुरीमाथि छलफल भएको थियो।

छलफलमा उजुरीकर्ताहरुलाई बोलाइएको थियो। प्रस्तावित राजदूतविरुद्ध नौवटा उजुरी परेका छन्। उजुरीकर्तामध्ये अधिकांशले संविधानको मर्म र भावनाअनुरुप समावेशी सिद्धान्तलाई आत्मसात नगरिएको भन्दै सिफारिस सच्याउन माग गरेका थिए।

गत साउन १४ गतेको मन्त्रिपरिषद् बैठकले विभिन्न मुलुकका लागि १७ जना राजदूत सिफारिस गरेको थियो।

यसैबिच आजविभिन्न ३ वटा संसदिय समितिका बैठक बस्दैछ। प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूचि छ। बैठक बिहान ९ बजे बस्दैछ।

प्रतिनिधि सभाकै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे बस्ने तय भएको छ। बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ का सम्बन्धमा उपसमितिको प्रतिवेदन माथि छलफल हुनेछ। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बिहान साढे ११ बजे बस्ने बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ मा सैद्धान्तिक छलफल गर्ने संसद सचिवालयले जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close