सरकारलाई मुलुकमा सुशासन कायम राख्नु पहिलो चुनौती, भ्रष्टाचार नगर्नेे र अपराधलाई छुट नदिने सरकारको दावी (खासखबर)
काठमाडौं। वर्तमान सरकार देश र जनताको पक्षमा काम गर्नको लागि बनेको भन्दै भ्रष्टाचार नगर्ने दावी प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न कार्यक्रमहरु मार्फत गरिरहनु भएको छ ।
अहिलेको सरकार मुलुकमा स्थिरता र विकासका लागि गठन भएकाले यसले संविधान र कानुन विपरीत अपराधीलाई छुट दिन वा निर्दोषलाई फसाउन कुनै पनि दबाब नदिने सरकारको दावी छ।
प्रधानमन्त्रीे ओलीले मुलुकको शान्ति सुरक्षाको प्रमुख जिम्मेवारीमा रहेको नेपाल प्रहरीले आपराधिक घटनाको पूर्वानुमान र अनुसन्धान गरी त्यस्ता घटना हुन नदिने र भइहालेमा कडाइका साथ कारबाही गर्नेतर्फ हरदम सचेत भएर काम गर्न निर्देशन दिनुभएको छ ।
अस्थिरता र अराजकता मच्चाउन खोज्ने प्रयासप्रति हरदम सचेत भएर जनतालाई शान्ति सुरक्षा दिने मामिलामा दृढ र ढुक्क भएर लाग्न उहाँले आग्रह गर्नुभएकोहो ।
जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवन तथा भौतिक पूर्वाधारहरुको समुद्घाटन समारोहलाई आज (सोमबार) सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले सरकारले भात र रोटी खान्छ तर घुस पैसा खाँदैन र भ्रष्टाचार गर्दैन भन्नुभयो ।
सरकारले प्रहरी प्रशासनलाई स्वतन्त्र रुपमा काम गर्न दिएको प्रधानमन्त्रीको दावी छ।धर्म, पहिचान र विभिन्न मुक्तिका नाममा अशान्ति मच्चाउनेहरुबाट प्रहरी सतर्क हुनुपर्नेमा प्रधानमन्त्रीले जोड दिनुभयो।
सरकार बनेको सय दिनमा १० वटा काम गर्ने योजनासहित काम गरिरहेको सरकारले दावी गरिरहेको छ ।गृहमन्त्री रमेश लेखकले जनताको मुद्दालाई प्राथमिकता राख्न नेपाल प्रहरीलाई निर्देशन दिनुभयो।
गृहमन्त्री लेखकले जनताको मुद्दालाई प्राथमिकतामा राख्दा प्रहरीको मुद्दा पनि सँगै समावेश हुने बताउनुभयो। उहाँले कांग्रेस र एमाले मिलेर सरकार बन्नुको उद्देश्य प्रस्ट पार्नुभयो ।
कांग्रेस र एमाले मिल्दा आत्मविश्वास वृद्धि भएको गृहमन्त्री लेखकले जिकिर गर्नुभएको छ । मुलुकमा सुशासनको प्रत्याभुति दिलाउन सरकार लागिरहेको उहाँको दावी छ।सरकारले भ्रष्टाचार नगर्ने दावी गरिरहेको छ ।सुशासन कायम गराउने दावी गरिरहेको छ।
मुलुकमा सुशासन कायम गराउनु सरकारको पहिलो जिम्मेवारी हो।सुशासन कायम गराउने कार्यलाई हरेक सरकारले आफ्नो प्राथमिकतामा राख्ने गरेको भए पनि यसमा अपेक्षित सफलता हासिल गर्न भने कठिन हुन्छ ।
सरकारको कुशल नेतृत्वमा राज्यका सबै संयन्त्रको इमानदार समन्वय र सहकार्यबाट मुलुकमा सुशासन कायम गराउन सकिन्छ । जनतामा सुशासनको अनुभूति नभई सरकारको स्थायित्व वा सफलता पनि सुनिश्चित हुन सक्दैन ।