प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले सबैलाई अफ्ठ्यारो महसुस भएको छ : गगन थापा

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदमा अवराेध भएकोबारे प्रधानमन्त्रीले संसदमा आफ्नो धारणा राखेपछि स्पष्ट हुने बताउनुभएको छ ।

बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको जिल्ला सभापतिहरूको भेलापछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिले सबैलाई अफ्ठ्यारो महसुस गरेको बताउनुभयो । उहाँले प्रधानमन्त्री प्रचण्डले पुस्तक विमोचनका क्रममा अभिव्यक्त गर्नुभएको कुरा प्रधानमन्त्रीको हैसियतले बोल्न नहुने र शोभनीय नभएको टिप्पणी गर्नुभयाे ।उहाँले प्रधानमन्त्रीले नै यस विषयमा संसदमा स्पष्टीकरण दिएपछि अन्योलता हट्ने पनि बताउनुभयाे ।

महामन्त्री थापाले आजको बैठकमा जिल्ला सभापतिहरूले आउँदाे केन्द्रीय समितिले सबै समस्यालाई हल गरेर लैजान सुझाव दिएका बताउनुभयो ।

बैठकमा जिल्ला सभापतिहरूले नेपाली कांग्रेसका नेतृत्वमा रहेका सबै तहका सरकारको प्रस्तुति र प्रगतिको समीक्षा गर्दै बढीभन्दा बढी काम गरेर परिणाम निकाल्ने गरी सरकार सञ्चालन गर्न आग्रह गरेका छन् । पार्टीका नेताहरू भ्रष्टाचारको मुद्दामा जोडिएका, आरोपित भएको विषयमा कठोररूपमा उभिन आग्रह गरेका छन् । राष्ट्रियताको सवालमा पनि पार्टीको स्पष्ट धारणा आउनुपर्ने कुरा बैठकमा राखेको महामन्त्री थापाले बताउनुभयो । पार्टी सभापतिहरूले कांग्रेसले देशव्यापी प्रशिक्षण तथा जागरणको अभियान चलाउनुपर्ने सुझाव दिएको पनि उहाँले बताउनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close