पर्सा क्षेत्र नम्बर १ बाट अजय द्विवेदीले दिए स्वतन्त्र उम्मेदवारी
वीरगञ्ज, २३ असोज । नेपाली काँग्रेसबाट टिकट नपाएपछि संविधानसभा सदस्य अजय द्विवेदीले स्वतन्त्रबाट पर्सा क्षेत्र नम्बर १ मा प्रतिनिधी सभा सदस्यका लागि उम्मेदवारी दिएका छन् ।
आइतबार दिउँसो जिल्ला समन्वय समितिस्थित प्रमुख निर्वाचन अधिकृतिको कार्यालयमा पुगेर द्विवेदीले उम्मेदवारी दिएका हुन् । सत्ता गठबन्धनबाट पर्सा १ मा प्रतिनिधिसभा सदस्यको आकांक्षीका रहेका द्विवेदीले टिकट नपाएपछि स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका हुन्
शनिबार राती लोसपा र सत्ता गठबन्धन बीच सिट बाँडफाँडमा सहमति जुटेपछि पर्सा-१ लोसपाको भागमा पर्यो भने नेपाली कांग्रेसले अन्य ३ वटा क्षेत्र पाएको थियो । लोसपाले यस क्षेत्रबाट पूर्वमन्त्री लक्ष्मणलाल कर्णलाई उम्मेदवार बनाएको छ ।
उम्मेदवारी दर्ता गराउँदै द्विवेदीले पार्टीमा आफू विभेदमा परेकोले अन्यायको खिलाफ प्रतिकार गरेको बताए । “नेविसंघबाट राजनीति शुरु गरेर विद्यार्थी आन्दोलनदेखि प्रजातान्त्रिक आन्दोलनसम्म अग्रगामी भूमिका खेल्दै आएको मैले आजसम्म पार्टीको सुखदु:ख र समस्यामा डटेर सहयोग गरेको छु,” उनले भने, “तर पार्टीले आज मसँग अन्तर्घात गरेको छ ।
देशको राजनीतिक दल आफ्नो सिद्धान्त र नैतिकतालाइ भुलेर जनतालाई बेवकुफ बनाउने योजनाको साथ विचार नै नमिल्ने दलसँग गठबन्धन गरि अगाडी बढेको हुनाले आफू जनताको निर्देशन अनुसार स्वतन्त्रबाट उम्मेदवारी दिएको प्रतिक्रिया दिए ।