जनता समाजवादी पार्टीः मन्त्री फेर्ने तयारी, उपेन्द्र यादव र बाबुराम भट्टराईबीच मतभेद उत्कर्षमा
जनता समाजवादी पार्टीले गठबन्धन सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने तयारी अघि बढाएपछि उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षबीच मतभेद उत्कर्षमा पुगेको सो दलका नेताहरूले बताएका छन्।
सत्ताधारी गठबन्धनको चौथो शक्ति रहेको यो दलमा मन्त्री फेर्ने एकल अधिकार कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवलाई दिइएपछि पार्टीका सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षका नेताहरू असन्तुष्ट बनेका छन्।
यसअघि गठबन्धनको तेस्रो ठूलो साझेदार नेकपा एकीकृत समाजवादीमा पनि मन्त्री फेर्ने विषयका कारण विवाद भएको थियो। विवादबीच एकीकृत समाजवादीले सरकारमा रहेका आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरू पठाएको थियो।
अहिले मन्त्रिपरिषद्मा जनता समाजवादी पार्टीका चार मन्त्री छन्।
“आवश्यक परे” मन्त्री फेर्ने निर्णय गरिएको अध्यक्ष यादवले जानकारी दिए।
जसपामा विवाद किन?
जनता समाजवादी पार्टीमा कार्यकारिणी समिति प्रमुख यादव र सङ्घीय परिषद् अध्यक्ष भट्टराईबीच स्पष्ट अधिकार बाँडफाँट नभएकै कारण विवाद सुरु भएको बताइन्छ।
पूर्वप्रधानमन्त्री भट्टराई र पूर्वउपप्रधानमन्त्री सहित पटकपटक मन्त्री बनेका यादवबीच लामो समययता पार्टी सञ्चालन र अधिकार बाँडफाँटबारे विवाद छ। यादवपक्षीय नेता मृगेन्द्र कुमार सिंहका अनुसार भट्टलाई पार्टी कार्यालय नआएकै लामो समय भइसकेको छ।
यादवले पार्टीको बैठक नराखेको विषयमा असन्तुष्टि जनाउँदै भट्टराई पक्षका नेताहरूले केही समयअघि हस्ताक्षर सङ्कलन अभियान नै सुरु गरेका थिए।
कार्यकारिणी समिति अध्यक्ष यादवले मङ्गलवार पार्टी कार्यकारिणी समितिको बैठक त राखे तर उक्त बैठकमा आफूहरूलाई खबर नै नगरिएको भट्टराई पक्षधर नेत्री अमृतादेवी अग्रहरीले बताइन्।
“म पार्टीको कार्यकारिणी सदस्य भए पनि मलाई बैठकबारे जानकारी दिइएन, अरू साथीहरूलाई पनि त्यस्तै भएको हुनसक्छ,” उनी भन्छिन्।
पार्टीका ३२ जना कार्यकारिणी सदस्यमध्ये यादव निकटका १९ जना बैठकमा सहभागी भएको विवरणहरू आएका छन्।
कोसँग छ अधिकार
आफ्नो पक्षका नेताहरूमात्रै उपस्थित भएको भनिएको कार्यकारिणी बैठकबाट यादवले मन्त्री परिवर्तन गर्ने अधिकार आफूमा केन्द्रीकृत गरेका छन्।
यादवले मन्त्रीहरू हेरफेर गर्न सक्ने अधिकार मङ्गलवारको बैठकपछि आफूलाई भएको जानकारी दिए।
“मन्त्री परिवर्तन आवश्यकता भए हेरफेर हुन्छ। हेरफेर गर्न सक्ने निर्णय भएको हो,” यादवले भने।
सरकारमा यादव पक्षकै धेरै मन्त्रीहरू रहेको एक नेताले बताए। यादव एक्लैलाई मन्त्री परिवर्तन गर्ने अधिकार दिँदा आफ्नो पक्षका मन्त्री मात्र फिर्ता गरिन सक्ने आशङ्का भट्टराई पक्षले गरेको छ।
“मन्त्री हेरफेरको प्रस्ताव त राम्रै कुरा हो। पार्टी नेताहरूले सुरुमै छ-छ महिनामा मन्त्री पालो गर्ने वाचा दिनुभएको थियो। तर त्यसो भएन। अहिले पनि हामीलाई नराखी गरिएको निर्णय औपचारिक हुन सक्दैन,” सांसद अग्रहरीले भनिन्।
भट्टराई पक्षका नेताहरूको आशङ्कामा बल पुग्ने गरी यादवपक्षीय नेताहरूले प्रतिक्रिया दिएका छन्।
“अब एक जना गर्नुहुन्छ, दुई जना कि, तीन जना कि चारै जना गर्नुहुन्छ जम्मै अधिकार उहाँलाई दिइएको हो,” यादव निकट मानिने नेता मृगेन्द्र कुमार सिंहले बीबीसीसँग भने।
जनता समाजवादी पार्टीबाट सरकारमा राजेन्द्र श्रेष्ठ, रेनुकुमारी यादव, महिन्द्र राय यादव र रामसहाय प्रसाद यादव मन्त्री छन्।
के भन्छन् यादव
मन्त्री परिवर्तन गर्ने विषयमा पार्टीभित्रै देखिएको असन्तुष्टिबारे राखिएको जिज्ञासामा यादवले राजनीतिमा विवाद सामान्य भएको बताए।
“राजनीतिमा विवाद हुन्छ। राजनीतिमा पनि विवाद नभए कहाँ हुन्छ?” उनको प्रतिप्रश्न थियो।
यादव पक्षका नेताहरूले सञ्चारमाध्यममा पार्टीमा असहयोग गर्ने नेताहरूमाथि कारबाही गर्ने प्रतिक्रिया दिए पनि यादवले कसैलाई कारबाही गर्ने निर्णय नभएको बताए।
तर स्थानीय निर्वाचनमा “अन्तर्घात” गर्ने र “नोक्सानी” पुर्याउने नेताहरूलाई स्पष्टीकरण सोध्ने मात्रै निर्णय भएको बताए।
“कारबाहीको निर्णय भएको छैन यो बाहिरको हल्ला मात्रै हो,” उनले भने।
बाबुराम भट्टराईसँग कुरा गर्ने प्रयास गरिएको भए पनि बुधवार दिउँसोसम्म उनीसँग सम्पर्क हुन सकेको छैन।