मन्त्रिपरिषद् पुनर्गठन, एकीकृत समाजवादीका मन्त्रीहरू फेरिए

मन्त्रिमण्डल हेरफेरमा आफूलाई साथ नदिएको भन्दै नेकपा (एस)का शीर्ष नेताहरूले प्रधानमन्त्रीमाथि प्रश्न उठाएका थिए

प्रधानमन्त्री शेरबहादुर देउवाले आइतवार नेकपा एकीकृत समाजवादीका मन्त्रीहरू फेर्दै मन्त्रिमण्डल पुनर्गठन गरेका छन्।

राष्ट्रपति कार्यालयले मन्त्रिपरिषद्‌मा नियुक्ति र कार्य विभाजनबारे एउटा विज्ञप्तिमार्फत जानकारी गराएको छ।

प्रधानमन्त्रीले यसअघि एकीकृत समाजवादीबाट नियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा बाहेक अन्य मन्त्रीहरू फेरेका हुन्।

नवनियुक्त मन्त्रीहरूमा जीवनराम श्रेष्ठले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाएका छन् भने मेटमणि चौधरीलाई रामकुमारी झाँकीले सम्हालेको सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।

स्वास्थ्य राज्यमन्त्री रहेका भवानीप्रसाद खापुङ् स्वास्थ्य मन्त्री नियुक्त गरिएका छन्।

शेरबहादुर कुँवरलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षाको जिम्मेवारी दिइएको छ भने हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्री तोकिएको छ।

जेठको तेस्रो साता एकीकृत समाजवादीले सरकारका सामेल आफ्ना मन्त्रीहरू फिर्ता गरेर उनीहरूको बदलामा नयाँ अनुहार मन्त्रिमण्डलमा पठाउने निर्णय गरेको थियो।

त्यसको लगभग तीन सातापछि उक्त निर्णय कार्यान्वयनमा आएको हो।

राजीनामा घोषणा गरेका मन्त्रीहरूले के भने

यसअघि आइतवार एकीकृत समाजवादीका दुई मन्त्रीहरूले पदबाट राजीनामा दिएको घोषणा गरेका थिए।

पर्यटनमन्त्री आलेले सरकारबाट फिर्ता बोलाउने निर्णय आफूलाई स्वीकार्य रहेको बताएका थिए

तस्बिर स्रोत,WWW.TOURISM.GOV.NP

तस्बिरको क्याप्शन,पर्यटन मन्त्री आलेले सरकारबाट फिर्ता बोलाउने निर्णय आफूलाई स्वीकार्य रहेको बताएका थिए

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले र सहरी विकास मन्त्री झाँक्रीले राजीनामा दिएको पत्रकार सम्मेलनमार्फत जानकारी गराएका थिए।

आफ्नो दलले सरकारमा सहभागी मन्त्रीहरू फिर्ता गर्ने निर्णय लिएपछि उनीहरूमाथि पद छोड्न दबाव बढ्दै गएको थियो।

मन्त्री फेरबदलको मुद्दाले उक्त दलमा कलह निम्त्याएको विवरणहरू सार्वजनिक भएका थिए।

नेकपा (एस)का कतिपय नेताहरूले मन्त्रीहरू फेर्न आलटाल गरेको भन्दै प्रधानमन्त्री र गठबन्धनको अर्को दल नेकपा माओवादी केन्द्रका अध्यक्षलाई आरोप लगाएका थिए।

पर्यटन मन्त्री आलेले पार्टीको पोलिटब्युरो बैठकमा गएको शुक्रवार आफूले ४८ घण्टाभित्र राजीनामा गर्ने प्रतिबद्धता जनाएको र त्यसै अनुसार नेतृत्वलाई राजीनामा दिएको बताए।

उनले भने, “मैले पार्टी अध्यक्षलाई राजीनामा दिएको छु। बहुदलीय व्यवस्थामा पार्टीले नै सांसद र मन्त्री बनाउने र फिर्ता बोलाउन सक्ने भएकाले राजीनामा दिने निर्णय लिएको हुँ।”

उनले थपे, “पार्टीले जे निर्णय गरेको छ, त्यो स्वीकार्य छ। पछिल्लो समयमा बजेटको जबाफ दिएर फर्कने भन्ने भएकाले मात्रै लम्बिएको हो। म भन्न सक्छु मैले राम्रो काम गरेको छु।”

यसअघि एकीकृत समाजवादीले शनिवार तत्कालै आफ्ना नयाँ मन्त्रीहरूको शपथ गराउन प्रधानमन्त्रीसँग माग गरेको थियो।

नेकपा (एस) भित्रको कलह

शहरी विकास मन्त्री झाँक्री भावुक देखिएकी थिइन्

तस्बिर स्रोत,WWW.MOUD.GOV.NP

तस्बिरको क्याप्शन,शहरी विकास मन्त्री झाँक्री भावुक देखिएकी थिइन्

राजीनामा दिएको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री झाँक्री भावुक सुनिएकी थिइन्।

उनले पार्टीले मन्त्री हटाउने निर्णय गरेको आफूहरूले सञ्चारमाध्यमबाट थाहा पाएको भन्दै बजेट प्रतिरक्षा गरेर मात्रै राजीनामा दिने भनेर पार्टी अध्यक्षलाई बताएको उल्लेख गरिन्।

उनले भनिन्, ” साथीभाइहरूले छ महिनाको समयसीमाको कुरा गरेपछि हामीले चैततिर नै नेतृत्वलाई भनेका थियौँ। मन्त्री बन्ने र बनाउनेहरूले तपाईँहरू मन्त्री भएको कहिले भएको भनेर फोन गरे। अलिकति जानकारी भयो भने वातावरण बनाएर छाड्छौँ भनेका थियौँ।”

उनले प्रधानमन्त्री देउवाले बजेटसम्म चाहिँ मन्त्रीका रूपमा काम गरिरहन आफूहरूलाई भनेको बताइन्।

यसअघि मन्त्रीहरू हटाउनेबारे एकीकृत समाजवादीको दलको सचिवालयको निर्णयलाई स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीले अनुमोदन गरेको नेताहरूले बताएका थिए।

नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसाल मन्त्रीमण्डल पुनर्गठनको विषयमा पार्टीमा खासै विवाद नरहेको र पछिल्ला छलफलहरूले सबै कुरा स्पष्ट पारेको बताउँछन्।

पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले बजेटमा उठेका प्रश्नबारे राष्ट्रिय सभामा जबाफ दिन समय मागेकाले उनीहरूलाई त्यो उपलब्ध गराइएको र आफूले भनेअनुसार नै उनीहरूले राजीनामा दिएको उनले बताए।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close