मन्त्रिपरिषद् पुनर्गठनबारे सत्ता गठबन्धन बैठकमा छलफल

काठमाडौँ,२३ जेठ । सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शीर्ष नेताहरुबीच मन्त्रिपरिषद् पुनर्गठनबारे पनि छलफल भएको बताइएको छ ।बैठकमा समसामयिक राजनीतिक विषयहरुमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए । उनका अनुसार मन्त्रिपरिषद् पुनगठनबारे छलफल भएपनि टुंगो भने लाग्न सकेन ।
छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए । बैठकमा कानुनमन्त्री गोविन्दप्रसाद शर्मा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की समेत सहभगाी थिए ।श्रोतका अनुसार नेताहरुबीच मन्त्रिपरिषद् विस्तारको विषयमा समेत छलफल भएको छ ।
नेकपा एकीकृत समाजवादीले आइतबार आफ्ना पाँच जना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्रीको सिफारिस गर्ने निर्णय गरेको थियो ।नेकपा एस स्रोतका अनुसार आज पुनर्गठनको सम्भावना कम छ । गठबन्धनका अन्य सदस्यहरूले समय माग गरेकाले मन्त्रिपरिषद् पुनर्गठनमा समय लाग्ने भएको हो ।