वीरगंज १० मा जसपा र माओवादीको गठबन्धन ।
वीरगञ्ज, २७ बैशाख । वीरगञ्ज महानगरपालिका वडा नम्बर १० मा जनता समाजवादी पार्टी (जसपा) लाई नेकपा माओवादी केन्द्रले समर्थन गरेको छ । वडा नम्बर १० मा जसपाबाट वडाअध्यक्षका उम्मेदवार सुशिल साहलाई माओवादी केन्द्रले समर्थन गरेको हो ।
बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा जसपाका उम्मेदवारलाई माओवादी केन्द्र वडा नम्बर १० समितिले समर्थन गर्ने दुई पार्टी बिच लिखित सहमति भएको छ । माओवादी केन्द्रका पर्सा क्षेत्र नम्बर २ (ख) का इन्चार्ज प्रभाकर गुप्ता र जसपा वीरगञ्ज महानगर वडा नम्बर १० इकाई समिति अध्यक्ष जोगिन्द्र साह कानुले संयुक्त रुपमा एक प्रेस विज्ञप्ती जारी गर्दै दुई दल बिच सहमती भएको जानकारी गराएका हुन् ।
सहमती अनुसार माओवादी केन्द्रबाट वडा नम्बर १० को वडाध्यक्षको उम्मेदवारी दिएका पवन गुप्तासहितको वडा समितिका उम्मेदवारहरुले जसपाका वडाध्यक्षका उम्मेदवार सुशिल साहसहितका वडा समितिका उम्मेदवारलाई सघाउले सहमति पत्रमा उल्लेख छ ।
माओवादीको समर्थनले वडा नम्बर १० मा जसपाको जित निश्चित भएको जसपाका केन्द्रिय सदस्य एवम् संघिय सांसद प्रदीप यादवले वताए । वीरगञ्ज महानगरमा ५ दलिय गठबन्धनको जित निश्चित रहेको यादवको दाबी छ । माओवादी केन्द्रले गठबन्धनको असली धर्म पालना गरेको यादवको भनाई छ । माओवादीका उम्मेदवार गुप्ताले गरेको साहसी निर्णयको सांसद यादवसहित समग्र जसपाले सह्राना गरेको छ ।
प्राप्त उपलब्धिलाई रक्षा गर्नको लागि प्रतिगमनकारी शक्तिहरुको विरुद्ध अग्रगमन शक्तिहरु बिचमा वृहत लोकतान्त्रिक गठबन्धनद्वारा जनताको प्राप्त अधिकारलाई संरक्षण गर्ने माओवादीका नेता प्रभाकर गुप्ताले वताए ।