भरतपुर महानगरको मेयरमा कांग्रेसकै उम्मेदवार बनाउन दबाब
प्रधानमन्त्रीलाई भोली भेट्ने
भरतपुर, २४ चैत । भरतपुर महानगरमा कांग्रेसबाटै मेयरको उम्मेदवार बनाउनुपर्ने भन्दै चितवन कांग्रेसको टोलीले पार्टीको ध्यानाकर्षण गराएको छ । कांग्रेसका शिर्षनेताहरुलाई भेट गर्दै कांग्रेस चितवनले गरेको निर्णयसमेत बुझाएका छन् । कांग्रेस चितवनका सभापति राजेश्वर खनाल सहितको टोलीले भरतपुर महानगरको मेयरको उम्मेदवार कांग्रेसबाटै बनाउनुपर्ने माग राखेको हो ।कांग्रेसका वरिष्ठ नेता एवं सत्तारुढ गठबन्धनले निर्माण गरेको स्थानीय तह चुनाव केन्द्रित तयारी तथा अनुगमन समितिका संयोजक रामचन्द्र पौडेललाई ध्यानाकर्षण गराएका हुन् ।
यस्तै कांग्रेसका निवर्तमान महामन्त्री कृष्णप्रसाद सिटौला, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री गगन थापालाई समेत भेट गरी महानगरको मेयर पद कांग्रेसलेनै पाउनुपर्ने दाबी गरेका छन् ।जिल्लाको निर्णय बुझाउन कांग्रेस केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ, दिनेश कोइराला, निवर्तमान जिल्ला सभापति जितनारायण श्रेष्ठ, पूर्वसांसद जगन्नाथ पौडेल, जिल्ला निवर्तमान सचिव उत्तम जोशी लगायतको टोली काठमाडौँ पुगेको थियो ।निवर्तमान सभापति श्रेष्ठले महानगरको मेयर नछाड्ने अडानबारे शिर्षनेताहरुलाई जानकारी गराइएको बताउनुभयो ।
केही दिन पहिले भरतपुरको महानगरको मेयर नछाड्ने गरि गठबन्धन गरेर अघि बढ्ने कांग्रेस चितवनले निर्णय गरेको थियो । कांग्रेस चितवनका निवर्तमान सचिव उत्तम जोशीले भोलि विहान बालुवाटारमा पार्टी सभापतिसँग भेटघाट गर्ने कार्यक्रम तय गरिएको जानकारी दिनुभयो । सत्तागठबन्धन मिलेर चुनावमा जाने तयारी भैरहेका बेला महानगरको मेयर यसपाली कांग्रेसलेनै पाउनुपर्ने चर्को दबाब परेको छ ।