माओवादी केन्द्रबाट नवनिर्वाचित जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रम आज सकिने
वीरगन्ज,१९ जेठ । नेकपा माओवादी केन्द्रबाट नवनिर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुखको अभिमुखीकरण कार्यक्रम अर्थात प्रशिक्षण कार्यक्रम आज सकिने भएको छ । गत बुधबारदेखि सुरु भएको प्रशिक्षण कार्यक्रम आज बेलुका सकिने भएको हो ।बिहीबारको प्रशिक्षण कार्यक्रमलाई अर्थ मन्त्री जनार्दन शर्माले सम्बोधन गर्ने भएका छन् । मन्त्री शर्माले आगामी आर्थिक वर्षको योजना तथा कार्यक्रमका विषयमा राख्ने भएका छन् ।
यस्तै स्थानीय तहमा शिक्षा र स्वास्थ्यको अवस्थाका विषयमा गिरिराजमणि पोखरेल, स्थानीय तहमा नीति निर्माण तथा कार्यक्रमका विषयमा डा रामकुमार फुयाँल, स्थानीय तहमा बजेट निर्माणका विषयमा पूर्व योजना आयोग उपाध्यक्ष मीनबहादुर श्रेष्ठले सम्बोधन गर्ने भएका छन् ।यस्तै सूचना प्रविधिका विषयमा पूर्व विज्ञान मन्त्री गणेश साह र आरके ढुंगानाले सम्बोधन गर्ने भएका छन् । यसअघि निर्वाचित भई सफल मानिएका सातै प्रदेशका एक एक पालिका प्रमुखले आफ्नो धारणा राख्न पाउने भएका छन् । अन्तमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’कार्यक्रमको सबै पक्षको विश्लेषण गर्दै समापन गर्ने भएका छन् ।