बालुवाटारमा सत्ता गठबन्धनमा आबद्ध शीर्ष नेताहरुबीच छलफल जारी
काठमाडौँ,२५चैत । चुनावी तालमेललगायतका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुसँग छलफल गरिरहेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनमा आबद्ध शीर्ष नेताहरुसँग प्रधानमन्त्री देउवाले छलफल गरेका हुन्। प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले गठबन्धनमा आबद्ध शीर्ष नेताहरुबीचको छलफल जारी रहेको जानकारी दिए ।
स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा गठबन्धनबीच चुनावी तालमेलको मोडालिटीलगायतका विषयमा सहमति जुट्न बाँकी छ।कांग्रेसले ६ वटा महानगरपालिकाको उम्मेद्वार केन्द्रबाट टोक्ने र बाँकी स्थानीय तहका आवश्यकतका आधारमा तालमेल गर्न सकिने निर्णय गरेको गरिसकेको छ।सत्तारूढ पाँच दलीय गठबन्धनको स्थानीय तह चुनावी तयारी, परिचालन तथा अनुगमन समितिले चुनावी तालमेलका लागि स्थानीय तहमा पार्टीगत अवस्थाबारे चैत २६ गतेभित्र साझा प्रतिवेदन बुझाउन तल्लो तहका चुनावी तालमेल संयन्त्रलाई निर्देशन दिएको थियो।
समितिका संयोजक नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको अध्यक्षतामा बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले चुनावी तालमेलका लागि स्थानीय तहको अवस्थाबारे २६ गतेभित्र रिपोर्ट बुझाउन प्रदेश, जिल्ला र स्थानीय तहका चुनावी तालमेल संयन्त्रलाई निर्देशन दिएको हो।यसअघि गत बिहीबार बसेको सत्तारूढ गठबन्धनको बैठकले स्थानीय तहहरूमा गठबन्धनको अवस्था, चुनावी तालमेलको आधार लगायतका विविधि विषयमा अध्ययन गरी चैत २२ गतेसम्म साझा प्रतिवेदन बुझाउन प्रदेश, जिल्ला र स्थानीय तहमा संयुक्त संयन्त्र बनाउने निर्णय गरेको थियो।बैठकमा रामचन्द्र पौडेल नेतृत्वको समितिले चुनावी तालमेलमा अहिलेसम्म भएका प्रगतिबारे समेत जानकारी गराउने बताइएको छ।