आज गणेश चतुर्थी मनाइँदै यस वर्ष पनि वीरगन्जको घडिअर्वामा गणेश चतुर्थी महोत्सव सुरु

प्रथम पूजाको अधिकार प्राप्त गरेका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी आज (मंगलबार) गणेश चतुर्थी पर्व मनाइदै।

वीरगन्ज,असाेज २ -अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका बिघ्नहर्ता भगवान् गणेशको पूजाआराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ ।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाइन्छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिन्छ ।

शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ । आज हरितालिका (तीज) को व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको छ । भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका बर्तालुले चतुर्थीका दिन जीवनमा विघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ।

मङ्गल चतुर्थीसमेत भनिने यो पर्व आज भने मङ्गलबार नै परेको छ । यो पर्वलाई नेवार समुदायले भने चथा नाममा मनाउँछन् । तिथिको घटबढका कारण गणेश चतुर्थी अर्थात् चथा पर्व र ऋषि पञ्चमी पर्व पनि मङ्गलबार नै रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए । सूर्योदय कालमा चतुर्थी तिथि र मध्याह्नकालमा पञ्चमी तिथि परेकाले समितिले यस्तो निर्णय गरेको उनले बताए ।

यसैबिच वीरगन्ज १०घडिअर्वामा आज मंगलबारदेखि गणेश चतुर्थी महाेत्सव मंगलबारदेखि सुरु भएकाे छ ।

घडीअर्वास्थित रामजानकी मन्दिर परिसरमा सजाइएकाे आकर्षक टेण्टपण्डालमा भगवान् गणेशकाे मुर्ति स्थापना गरी पूजापाठ गरेर गणेश चतुर्थी महाेत्सव शुभारम्भ गरिएको हाे ।गणेश भगवानकाे मुर्ति अगाडि १४५ केजीकाे लड्डुपनि राखिएको छ ।

गणेश झन्कार मण्डलकाे आयाेजनामा सुरु गरिएको गणेश चतुर्थी महाेत्सवमा ५ दिनसम्म बेलुकी भजनकिर्तन र धार्मिक सांस्कृतिक कार्यक्रम आयाेजना गरिने महाेत्सव आयाेजक समितिका सचिव प्रभाकर गुप्ताले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close