लाखौं रकम असुलेर कलेजको पठनपाठन बन्द, सयौं विद्यार्थीको भविष्य अन्योल
चिट चोराएर पास गराउने भन्दै विद्यार्थीबाट कलेज प्रमुखले नै रकम असुल्ने गरेको विद्यार्थीहरूको आरोप
महोत्तरी — त्रिभुवन विश्वविद्यालयबाट ४ वर्षे स्नातक तह सञ्चालनको मान्यता पाएको बर्दिवास १४ स्थित नवक्षितिज कलेजले पढाइ नै बन्द गर्दा सयौं विद्यार्थीहरूको भविष्य अन्योलमा परेको छ । गत बुधबार मात्रै केही विद्यार्थीहरूले कलेजको लापर्बाहीविरुद्ध पालिका र इलाका प्रहरी कार्यालयमा उजुरी समेत दिएका थिए ।
क्याम्पस प्रमुख प्रमुख सुरेन्द्र चौधरीले भने विद्यार्थीको पढाइप्रति गम्भीर बन्नुको सट्टा ‘पढ्न मन नलाग्ने विद्यार्थी अन्यत्र जानसक्ने’ भन्दै गैरजिम्मेवार जवाफ दिने गरेका छन् । तैपनि कलेज प्रशासनले विद्यार्थीहरूसँग चर्को शुल्क उठाउन भने छोडेको छैन ।
विद्यार्थीहरू भने कलेजले आफूहरुलाई ठगेको र भविष्यमाथि खेलबाड गरेको भन्दै न्यायको खोजी गर्नुपरेको बताउँदै आएका छन् ।
बीएसी (आईटी) तेश्रो वर्षमा अध्यनरत विष्णु कुमार श्रेष्ठ १ वर्षदेखि कलेजको पठनपाठन पूर्ण रुपमा बन्द रहँदा आफ्नो भविष्य खतरामा पर्ने चिन्ता व्यक्त गर्छन् । ‘कलेजको बेतिथिबारे पटकपटक सम्बन्धित पक्षसँग छलफल गरेको भए पनि कलेज प्रशासनले मनोमानी गर्न नछोड्दा अब न्यायको खोजीमा हिँड्नुपर्ने अवस्था भएको छ,’ श्रेष्ठले बताए ।
लामो बाटो धाएर आउँदा पनि पढाइ नभएर फर्किनु परेपछि यादव अचेल कलेज आउनै छडिदिएको बताउँछिन् । ‘पहिलो वर्ष कलेजकै सल्लाह अनुसार (बीबीए) व्यवस्थापन संकायमा भर्ना भएँ । परीक्षा दिने समयमा क्याम्पस प्रमुख सुरेन्द्र चौधरीले तिमीलाई बीसीएमा हाल्दिएको छु भन्नुभयो । कलेजले अन्त्यमा बीसीए (आईटी) को परीक्षा दिन लगायो,’ यादव भन्छिन् । कलेजले पैसाकै लागि त्यसो गरेको उनको आरोप छ ।
उनी भर्ना भएको र परीक्षा दिएको विषयको शुल्कमा झण्डै दोब्बर अन्तर रहेकाले पैसाकै लागि यसो गरिएको हुनसक्ने उनले बताइन् । कलेजको व्यवस्थापन फितलो भएदेखि नै कलेजमा पढाइ रोकिएको उनी बताउँछिन् ।
कतिपय विद्यार्थीलाई त कलेज प्रमुख चौधरीले चिट चोराएर पास गराउने भन्दै पैसा उठाउने गरेको पनि विद्यार्थीहरूको आरोप छ । वर्षभर पढाइ नभएपछि विद्यार्थीहरूले विरोध जनाउँदा कलेज प्रमुखले चिट चोराएर पास गराउने भन्दै पैसा उठाएको उनीहरूको आरोप छ ।
जनकपुर उपमहानगरपालिका १२ घर भएका विद्यार्थी मिलन कुमार साह नवक्षितिज कलेज विद्यार्थीको शैक्षिक संस्था नभई ठगी गर्ने संस्था भएको बताउँछन् । ‘चोरी चल्यो भने लेख्न त सक्छौ नि भन्दै विद्यार्थीबाट परीक्षामा चोरी गर्ने वातावरण मिलाउन क्याम्पस प्रमुखले थप १५ सय रुपैयाँ लिए,’ साहले बताए ।
यसबारे उनीहरूले पटकपटक कलेज प्रशासन, बर्दिवास नगरपालिका, इलाका प्रशासन कार्यालय बर्दिवास र इलाका प्रहरी कार्यालय बर्दिवासमा छलफलका लागि निवेदन दिएका थिए । यसबीचमा छलफल गराइए पनि विद्यार्थिको कुरा सुनुवाइ नभएको विद्यार्थी रुपेश कुमार महतोले बताए ।
नवक्षितिज कलेजमा स्नातक तहका ५ वटा कार्यक्रममा पहिले ७ सय विद्यार्थी अध्यनरत थिए । हाल जम्मा ४ सय विद्यार्थी आबद्ध छन् ।
कलेज प्रशासनका कर्मचारी विजय राय भने कलेजको व्यवस्थापन फितलो भएकै कारण पढाइ सञ्चालन हुन नसकेको स्वीकार गर्छन् । कलेज प्रमुख चौधरी भने पढाइ नभएकोमा पैसा फिर्ता माग्ने विद्यार्थीलाई धम्की नै दिने गरेका छन् । तीमध्ये केही विद्यार्थीलाई त उनले अराजक शैलीमा गेटबाटै निकाल्ने गरेको अभिभावक देवी घिमिरेको भनाइ छ ।
यस्तै कलेज प्रमुख र उनका केही निकटका मानिसबाट विद्यार्थी, अभिवावक, शिक्षक, कर्मचारी, सवारी चालक पनि पीडित भएको बताउँछन् कलेजका शिक्षक सुरेन्द्र पोखरेल । प्रत्येक वर्ष वार्षिक शुल्क तिर्ने तथा छुटको नाममा एकमुष्ट लाखौं रकम बुझाए पनि पढ्न नपाएका विद्यार्थीहरूको भविष्य निकै अन्योलमा रहेको शिक्षक पोखरेलले बताए ।
२०६६ सालमा स्थापना भएको नवक्षितिज कलेज २०७३ सालमा सुरेन्द्र चौधरीले जिम्मा लिएका थिए । विभिन्न कार्यक्रम थप गर्दै प्राविधिक र जनरल कक्षा सञ्चालन गरी राम्रो छाप बनाएको कलेजमा अहिले चरम बेतिथि देखिएको स्थानीयहरूले गुनासो गर्दै आएका छन् ।
कलेजले भौतिक पूर्वाधारदेखि अन्य धेरै क्षेत्रमा सुधार गर्न नसके पनि त्रिभुवन विश्वविद्यालयले एक पछि अर्को अनुमति दिनुलाई समेत उचित मान्न नसकिने शिक्षक पोखरेल बताउँछन् ।
हाल विद्यार्थीले कलेजको विरुद्ध बोले गुण्डागर्दी शैलीमा धम्क्याउने, मानसिक यातना दिने, सर्टिफिकेट र कागजपत्र रोकिदिने गरेको विद्यार्थीहरूको आरोप छ । यस्तैमा केही विद्यार्थीहरूले पछिल्लो समय पढाइको निरन्तरताभन्दा आफ्नो पैसा फिर्ता माग्न थालेका छन् ।
बर्दिबास नगरपालिकाका शिक्षा शाखा प्रमुख गणेश दाहालले भने उक्त कलेजको पढाइ सञ्चालनका लागि आफूहरूले छलफल गर्ने तयारी गरेको बताएका छन् । यद्यपि छलफलका लागि बोलाउँदा कलेज प्रमुख पालिकामा नजाँदा छलफल अगाडि बढ्न नसकेको दाहालले बताए । ‘त्रिविले नै नियमन गर्नुपर्नेमा नगरपालिकाको क्षेत्रभित्रबाट यस्तो उजुरी आएपछि त्यो विषयमा छलफल गर्छौं । आर्थिक वर्षको अन्तिम बेला भएकाले छलफल राख्न सकिएको छैन । क्याम्पस प्रमुख उपस्थित नहुनुभएकाले छलफल राख्न सकिएको छैन । उहाँ आएपछि हामी छलफल गरेर समस्या समाधानको प्रयास गर्छौं,’ दाहालले भने ।
यस्तै इलाका प्रहरी कार्यालयले कलेज आफ्नो क्षेत्रधिकारभित्र नपर्ने भएकाले छलफल गराउन समन्वय गरिरहेको जनाएको छ । इलाका प्रशासन कार्यालय बर्दिवासका प्रमुख सुनिल पौडेलले भने इलाकामा विद्यार्थीको निवेदन परेकाले आवश्यक सुझबुझ भइरहेको बताए ।
कलेज प्रमुख चौधरी भने आफूहरूले विद्यार्थीलाई नरोकेको भन्दै पढाइ भइरहेको दाबी गरेका छन् । ‘हामीले कोही विद्यार्थीलाई रोकेका छैनौं । चित्त बुझ्दैन भने अर्को कलेजमा गएर पढ्न सक्छन् । कुनै विद्यार्थीबाट बढी पैसा असुलेका छैनौं । अहिले परीक्षा सञ्चालन भइरहेको छ,’ प्रमुख चौधरीले भने ।