बोक्सी भन्दै मलमूत्र खुवाएको आरोपमा सासू–बुहारी पक्राउ

बोक्सी भन्दै दुई महिलालाई पक्राउ

सिरहा — बोक्सी भन्दै छिमेकी एक महिलालाई मलमूत्र खुवाएको आरोपमा प्रहरीले सिरहाको ठाडीबाट दुई महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको भगवानपुर गाउँपालिका–४ ठाडी टोलका ३० वर्षीया फुलोदेवी साह र ५५ वर्षीया कोशिला साह रहेको प्रहरीले जनाएको छ । उनीहरु सासू–बुहारी हुन् ।

खेतमा घाँस काटेर फर्किरहेको बेला सासू कोशिला र बुहारी फुलोदेवीले ६० वर्षीया आतिका देवी कामैतलाई बोक्सी भन्दै शनिबार दिउँसो कुटपिट गरी मलमूत्र खुवाएका थिए । पीडितका पति हरि कामैतका अनुसार बोक्सीको आरोप लगाई गालामा मुक्का हान्दै मलमूत्र जीउभरि छर्किदिएर खुवाएको बताए । ‘कुटपीटबाट श्रीमती बेहोस भइन्,’ उनले भने, ‘होसमा आएपछि प्रहरीलाई जानकारी गराए ।’

२०७८ मंसिर २२ गते परालको टालमा लागेको आगोमा परि छिमेकी महेशको ६ वर्षीय छोरा भरत र भान्जा आकाशको जलेर मृत्यु भयो । त्यसपछि महेश र बुहारी फुलो धामी झाँक्रीको शरणमा पुगे । धामीले आतिका देवी बोक्सी भएको र महेन्द्रको घरमा आतिकाले बोक्सी विद्या प्रयोग गरी क्षति पुर्‍याएको भनिदिए । त्यहीदेखि महेशको परिवारले धामीको कुरामा विश्वास गरेर पटक–पटक गालीगलौज र ज्यान मार्ने धम्की दिँदै आएको पीडित हरिले सुनाए ।

नेपाल–भारत सीमाक्षेत्र दसगजा क्षेत्र नजिक घर बनाएर बसेका कामत परिवार मजदुरी गरी गुजारा चलाउँछन् । पक्राउ परेका कोशिला राजेन्द्रका पत्नी हुन भने फुलोदेवी बुहारी हुन् । इलाका प्रहरी कार्यालय लहानका डीएसपी कुमारप्रसाद मैनालीले पक्राउ परेका सासू–बुहारी दुवैलाई बोक्सीको आरोप कसुरमा मुद्दा चलाई अनुसन्धान भइरहेको जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close