पर्साको पकाहा मैनपुर गाउँपालिकाको कार्यपालिका सदस्यमा नेपाली काँग्रेसका ४ जना महिला सदस्य निर्विरोध निर्वाचित
वीरगन्ज,१५ जेठ । पर्साको पकाहा मैनपुर गाउँपालिकाको कार्यपालिका सदस्यमा नेपाली काँग्रेसका ४ जना महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् । गाउँकार्यपालिको ४ महिला सदस्यको लागि कांग्रेसबाट ४ जनाको मात्रै मनोनयन दर्ता भएपछि उनिहरु निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत कृष्ण प्रसाद देवकोटाले जानकारी दिनुभयो । महिला सदस्यमा कांग्रेसकी लालपरी देवी, रमाउती देवी तेलीन, राधिका देवी हरिजन र सुनिता देवी चौहान निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय पकाहा मैनपुरले जनाएको छ ।
दुई दलित वा अल्पसंख्यक सदस्यको लागि भने ३ जनाको मनोनयन दर्ता भएका कारण निर्वाचन तालिका अनुसार जेठ १६ गते भोलि मतदान हुने निर्वाचन अधिकृत देवकोटाले जानकारी दिनुभयो । गाउँ कार्यापालिका दलित वा अल्पसंख्यक सदस्यको लागि कांग्रेसबाट रामबहादुर साह सोनार, नेकमहमद मियाँ दर्जी र स्वतन्त्रबाट अकलेश कुमार साहको मनोनयन दर्ता भएको छ । दुई दलित वा अल्पसंख्यक सदस्यको लागि अस्ति शुक्रबार ७ जनाले उम्मेदवारी दर्ता गराए पनि हिजो ४ जनाले फिर्ता लिएको निर्वाचन कार्यालयले जनाएको छ ।
तर स्वतन्त्रबाट मनोनय दर्ता गराएका अकलेश साहले आफ्नो मनोनयन दर्ता कायम राखेका कारण निर्वाचन हुने भएको हो ।अकलेशले स्वतन्त्रबाट मनोनय दर्ता गराए पनि उहा नेकपा एमालेका गाउँपालिका कमिटी अध्यक्ष हुनुहुन्छ । ५ वटा वडा रहेको पकहा मैनपुर गाउँपालिकामा दुई वडा सदस्य वाहेक सम्पूर्ण पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । त्यस कारण निर्वाचन भएपनि कांग्रेस कै उम्मेदवार विजयी हुने निश्चित जस्तो रहेको छ ।