वीरगञ्जका बौद्धिक वर्ग पनि उपमेयरकी स्वतन्त्र उम्मेदवार मिश्राको समर्थनमा
वीरगञ्ज, २१ बैशाख ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट रुष्ट भएर स्वतन्त्रबाट उपमेयरमा उम्मेदवारी दिएकी रम्भा मिश्राले वीरगञ्जका प्रबुद्ध वर्गसँग छलफल गरेकी छिन् । वीरगञ्ज महानगरपालिकाको उपमेयरकी स्वतन्त्र उम्मेदवार मिश्राले वीरगञ्जका शिक्षित जमातसँग अन्तरक्रिया तथा छलफल गरेकी हुन् ।
उपमेयरको उम्मेदवारी दिँदा घोषणा पत्रमा समेट्न सकिने विषय एवम् उपमेयरमा स्वतन्त्र उम्मेदवारलाई जिताउन प्रबुद्ध वर्गले गर्न सक्ने सहयोगका विषयमा छलफल भएको हो ।
छलफलका क्रममा मिश्राले आफु उपमेयरमा निर्वाचित भए जनताको समस्याहरुलाई समाधानका लागि पहल गर्नुका साथै विशेष गरी मधेशमा उपेक्षामा पर्दै आएका महिला एवम् सिमान्तकृत समुदायका समस्याहरुलाई प्राथमिकता दिने बताइन् ।
गठबन्धनको नाममा यहाँका मुख्य दलहरुले मेयर र उपमेयर दुवै पदमा महिलालाई अवसर नदिएर पुरुषवाद देखाएको हुँदा स्वतन्त्रबाट महिलालाई जिताउन उनले आग्रह गरेकी हुन् । छलफलमा सहभागी शिक्षित समुहले पनि मिश्रालाई समर्थन गरेका छन् । त्याग र योगदान गरेको पार्टीले नै अवमूल्यन गरेपछि स्वतन्त्रबाट उम्मेदवारी दिने आँट सह्रानीय रहेको बताउँदै उनीहरुले महिलालाई जिताउने बताएका छन् ।
छलफलमा वीरगञ्जका विभिन्न विद्यालयका संस्थापक, प्रधानाध्यापक, शिक्षक, शिक्षिकाहरुले पनि शिक्षित एवम् सक्षम महिला नै उपमेयरका लागि योग्य रहेको बताएका थिए ।
कार्यक्रममा प्याब्सन पर्साका अध्यक्ष पुरण प्रधान, सनलाईट मा.विका प्रधानाध्यापक आलोक कुमार चौरसिया, नवदिप एकेडेमीकी प्रधानाध्यापिका सुशिला साह, साउथ जोन मा.वि.का प्रधानाध्यापक सरोज प्रसाद चौधरी, रमिता श्रेष्ठ, दीपा अधिकारी लगायतको उपस्थिती रहेको थियो ।