महिला प्रतिनिधित्व पनि बीरगंज महानगरपालिकाको प्रमुख वा उप प्रमुख हुन्नुपर्छ ।
वीरगञ्ज, १० वैशाख । आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेद्वारका रुपमा समान र बराबर प्रतिनिधित्व नमिले मतदान वहिष्कार गर्ने महिला अधिकारकर्मीहरुले चेतावनी दिएका छन् ।
राजनीति दलहरुले निर्वाचनमा गठबन्धन गरेर महिलाको प्रतिनिधत्व र संवैधानिक अधिकारलाइ कुण्ठित गरेको बताउँदै शनिबार वीरगञ्जमा प्रदर्शनमा उत्रेका महिलाअधिकारकर्मी र राजनीतिज्ञहरुले समान अधिकार र बराबर प्रतिनिधित्व सुनिस्चित नगरेर मतदान वहिष्कार गर्ने चेतावनी दिएका हुन् ।
वीरगञ्ज महानगरपालिकाको मेयरदेखि वडा सदस्यसम्म महिलाको प्रतिनिधित्व सुनिस्चित हुनुपर्ने माग गर्दै विभिन्न पार्टी तथा संघ संस्थाका महिलाहरुले प्रदर्शन गरेका छन् । सत्ता र विपक्षी गठबन्धनले वीरगञ्जको मेयर र उपमेयरमा महिलालाई उम्मेदवार नबनाएपछि आफूहरु विरोध गर्न बाध्य भएको लोसपाकी नेतृ रम्भा मिश्राले बताइन ।
गठनबन्धनको नाममा महिलाहरुलाई संविधानले दिएको अधिकारसमेत राजनीतिक दलहरुले खोसिरहेका छन् । हामी महिलाहरुका लागि निर्वाचन आयोगले बनाएको एउटा ठाउँमा समेत चलखेल गरेर पुरुषहरुले राज गर्न खोज्दै छन्,” मिश्राले भनिन, “हामी यो सहेर बस्दैनौँ । हाम्रो विरोध जारी रहन्छ । अधिकार नपाए मतदाननै वहिष्कार गर्छौँ ।
त्यसैगरी वीरगञ्ज महानगरपालिकाकी उपमेयर शान्ति कार्कीले पनि महिलालाई राजनीतिक दलहरुले कार्यकर्ताको रुपमा मात्र सिमित राख्न खोजेको आरोप लगाईन । पार्टीमा संघर्ष गरेर अगाडि बढेका महिलाभन्दा पनि नेताहरुले आफ्नो श्रीमती, छोरी र बुहारीलाई प्राथमिकता दिने गरेको उनको भनाई थियो । कार्कीले अब महिलाहरुले गनेर महानगरदेखि वडा सदस्यसम्म आफ्नो अधिकारको लागि सिट लिनुपर्ने बताईन ।
विरोध कार्यक्रममा नेपाली कांग्रेसकी नेतृ डा. सुष्मा तिवारी द्विवेदी, नेकपा एमालेकी नेतृ गुड्डी जोशी, लोसपाकी नेतृ मुन्नी श्रीवास्तव लगायतको सहभागिता रहेको थियो ।