नगरप्रमुख सरावगीद्वारा सरकारी गाडी फिर्ता
पर्साका जनप्रतिनिधिहरुले आफुले प्रयोग गर्दै आएको सवारी साधन बुझाउन थाले

वीरगन्ज ,७ बैशाख । पर्साका जनप्रतिनिधिहरुले आफुले प्रयोग गर्दै आएको सवारी साधन बुझाउन थालेका छन । जिल्लामा हालसम्म ३ जना जनप्रतिनिधिले आफुले प्रयोग गर्दै आएको सवारी बुझाएका छन । आज वीरगन्ज महानगरपालिकाको प्रमुख बिजय कुमार सरावगीले प्रयोग गर्दै आएको ना.१ झ १६६८ गाडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निश्चल राज पाण्डेलाई बुझाएका छन । यस्तै हिजो जगरनाथपुर गाँउपालिकाका अध्यक्ष जालिम मियाँले पनि सवारी साधन बुझाएका छन । उहाँले प्रयोग गर्दै आएको बा २ झ ४२४४ नम्बरको हायलक्स गाडी गाँउपालिकाका जिन्सी शाखाका उतम सिंहलाई बुझाएका थिए । यसअघि सोमबार बहुदरमाई नगरपालिकाका नगरप्रमुख नितेन्द्र साहले पनि आफूले प्रयोग गर्दै आएको गाडी नगरपालिकालाई बुझाएका थिए । साहले प्रयोग गर्दै आएको ना. १ झा १६६१ नम्बरको स्कर्पियो गाडी फिर्ता गरेका हुन् । सोमबार दिउँसो साहले गाडीको साँचो निमित्त प्रमुख प्रशासकीय अधिकृत विदुर प्रसाद उप्रेतीलाई हस्तान्तरण गरेका थिए । बैशाख ३० गते तोकिएको निर्वाचनमा गाडी दुरुपयोग हुन नदिने उद्येश्यले गाडी बुझाउन थालेको बताएका छन । जिल्लाको दुई नगरपालिका र ८ गाउँपालिकाका प्रमुखले प्रयोग गर्दै आएको पालिकाको गाडी बुझाउन बाकी रहेको छ ।