तराईका जिल्लामा आजदेखि तीन दिनसम्म तातो हावा चल्ने सम्भावना
तराईका जिल्लामा आजदेखि तीन दिनसम्म तातो हावा चल्ने सम्भावना
तराईका जिल्लामा आजदेखि तीन दिनसम्म तातो हावा चल्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
मौसमविद् राजु प्रधानाङ्गकाअनुसार तापक्रम वृद्धिसँगै आज, भोलि र पर्सि पश्चिम तराईका जिल्लामा तातो हावा चल्ने सम्भावना छ । ४० डिग्री सेल्सियसभन्दा माथिको तापक्रमलाई हिट वेभ अर्थात तातो हावा भनिन्छ । यसबेला मानिसलाई लू लाग्ने सम्भावना धेरै हुन्छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाको अभिलेखअनुसार देशका सात ठाउँमा ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम पुगेको छ । गएको २४ घन्टामा भैरहवाको अधिकतम तापक्रम ४० दशमलव ४ डिग्री सेल्सियस छ । यस्तै, नेपालगञ्जको ३९ दशमलव ५, धनगढीको ३८ दशमलव ९, सिमराको ३८ दशमलव ६, जनकपुरको ३८ दशमलव ८ डिग्री सेल्सियस छ ।
काठमाण्डौको अधिकतम तापक्रम ३१ दशमलव ५ डिग्री सेल्सियस पुगिसकेको छ । तापक्रम धेरै बढेको बेला बालबालिका, वृद्धवृद्धा, मुटु रोगी र गर्भवती लगायतलाई बढी असर गर्छ । यस्तो बेला दिउँसो घरबाहिर ननिस्कने र खानपानमा पनि ध्यान दिनुपर्नेमा विज्ञले सुझाव दिएका छन् ।
यसैबीच, आउँदो बिहीवार भने देशका धेरै ठाउँमा मौसम बद्ली भइ हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । उहाँकाअनुसार मौसम बद्ली हुने सम्भावना रहेकाले बिहीवार भने तापक्रम घट्ने अनुमान छ ।