पर्सामा कांग्रेस र जसपाले गठबन्धन नगर्ने

पर्सामा कांग्रेस र जसपाले गठबन्धन नगर्ने

वीरगञ्ज, ३ बैशाख । पर्सामा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) ले गठबन्धन नगर्ने भएका छन् ।

आसन्न स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनका पाँच दलले मिलेर चुनाव लड्ने केन्द्रीय नेताहरुले कसरत गरिरहेको बेला पर्सामा नेपाली कांग्रेस र जसपाले गठबन्धन नगरी मित्रवत् प्रतिश्पर्धा गर्ने निर्णय गरेका छन् ।

कांग्रेस र जसपाले शनिबार एउटा संयुक्त प्रेस नोट जारी गर्दै गठबन्धन गरेर निर्वाचन नगर्ने निर्णय गरेका हुन् । कांग्रेसका जिल्ला सभापति जनार्दन सिंह क्षेत्री र जसपाका जिल्ला अध्यक्ष रामनरेश यादवले हस्ताक्षर गरेको प्रेस नोटमा गठबन्धन नगरी मित्रवत् प्रतिस्पर्धामा जाने उल्लेख छ ।

गठबन्धन नहुने भएपछि पर्सामा अब कांग्रेस र जसपाले वीरगञ्ज महानगरसहित जिल्लाका सम्पूर्ण स्थानीय तहमा आ-आफ्नो उम्मेदवार उतार्ने छन् ।

जिल्लामा गठबन्धन नहुने भएपछि कांग्रेस, जसपा र एमाले बीच त्रिपक्षीय प्रतिश्पर्धा हुने भएको छ । नेकपा माओवादी केन्द्र, लोसपा र नेकपा एसको जिल्लामा खासै पकड नभएको कारण पनि जिल्लामा त्रिपक्षीय प्रतिश्पर्धा हुने राजनीतिक विश्लेषकहरुको कथन छ ।

कांग्रेस पर्साका नेताहरु सुरुदेखि गठबन्धनका पक्षमा थिएनन् । केहि दिन अघि मात्रै कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डेले एउटा विज्ञप्ति जारी गर्दै पार्टीले जिल्लामा कुनै पनि दलसँग गठबन्धन नगर्ने जनाएका थिए । यता, जसपाका नेताहरुले वीरगञ्जलगायत जिल्लाका अधिकतम स्थानीय तहमा आफ्नो पकड राम्रो रहेको बताउँदै त्यहाँ उम्मेदवार उठाउने तयारीसमेत गरिहेको थियो ।

पर्सामा मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्ज ३ वटा नगरपालिका र १० वटा गाउँपालिका छन् । वीरगञ्जमा यसअघि तत्कालिन सङ्घीय समाजवादी फोरम नेपालबाट निर्वाचित मेयर विजयकुमार सरावगी नेकपा एमाले प्रवेश गरिसकेका छन् । उनलाई एमालेले सर्व सहमतिबाट मेयरको उम्मेदवारका रुपमा अगाडि पनि सारिसकेको छ । यता जसपाले उनका प्रतिद्वन्द्वी राजेशमान सिंहलाई लोसपाबाट ल्याएर चुनावी मैदानमा उतारेको छ । कांग्रेसमा एक दर्जन आकांक्षीहरुले वीरगञ्जको मेयरमा आफ्नो दावेदारी गरिरहेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close