हनुमान जयन्तीको अवसरमा वीरगन्जमा विशाल शोभा यात्रा
प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानको पूजा आराधना गरेमा बल, बुद्धि र विद्या मिल्ने तथा दुःख र सङ्कटबाट मुक्ति पाइने विश्वास छ । शनिबार विश्व हिन्दु परिषद नेपाल पर्साले वीरगन्जमा पनि विशाल शोभा यात्रा निकालेको छ
वीरगन्ज महानगरपालिका क्षेत्रका ३२ औं वडाका स्थानिय, ग्रामिण भेग तथा बाराका हिन्दु समुदायको विशेष उपस्थितिमा वीरगन्जमा झाँकी सहित विशाल शोभा यात्रा निकालेको हो । विभिन्न क्षेत्रबाट बाँजागाजा सहित निकालिएको शोभा यात्रा घण्टाघर चोकमा भेला भई हजारौंको संख्यामा सहभागि विशाल शोभा यात्रा वीरगन्ज महानगरपालिका परिक्रममा गरेको थियो
घण्टाघर चोक देखि छपकैया चोकसम्म करिब साढे तीन किलो मिटर लामो हजारौंको सहभागितामा हिन्दु समाजले ऐतिहासिक हनुमान जयन्तीको विशाल शोभा यात्रा निकालेका हुन । चर्को घामको परवा नै नगरी भव्य रुपमा शोभा यात्राको आयोजना गरिएको थियो । शोभा यात्रामा सहभागि रामभक्त हनुमान भक्तलाई विभिन्न संघ सस्थाले ठाउँ ठाउँमा जल पिलाउँने व्यवस्था समेत गरेका थिए
हनुमानले भक्तियोग र कर्मयोगद्वारा रामको निकटता प्राप्त गर्नुभएको थियो । वैष्णव सम्प्रदायमा हनुमानलाई विभिन्न यौगिक शक्ति प्राप्तिको लागि पनि पूजा गर्ने चलन छ । आठ प्रकारका यौगिक शक्ति अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्रकाम्य, इशित्व र वशित्व हनुमानमा थिए । हनुमानलाई परब्रह्म र रौद्ररूपमा पनि स्मरण गरिन्छ ।
हनुमानको मूर्तिमा सिन्दुर लगाइएको हुन्छ । सिन्दुरले हड्डी एवं मांशलाई सुसङ्गठित शरीर निमार्णमा भूमिका खेल्दछ । यस अवसरमा आज देशभरका हनुमान मूर्ति एवं मन्दिरमा पूजा आराधना गर्नुका साथै शोभायात्रा निकालिन्छ ।मङ्गलबार र शनिबार हनुमानको विशेष आराधना गर्ने गरिएकामा यस वर्ष हनुमान जयन्ती शनिबार नै परेकाले पनि विशेष अवसर मानिएको छ । आज हनुमानको आराधना गर्नु अझ राम्रो हुने धर्मशास्त्रविद्हरुको भनाई छ ।