विपिन जोशीको रिहाईका निम्ति आरजुले गरिन् हमास विद्रोहीसँगका प्रमुख वार्ताकारलाई फोन

काठमाडौं– हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाईका लागि परराष्ट्रमन्त्री आरजु राणाले प्रमुख वार्ताकारसँग टेलिफोनमा कुरा गरेकी छन्।

मंगलबार उनले प्रमुख वार्ताकार समेत रहेका कतारका विदेश राज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलाजिज अल खुलाइफीसँग कुराकानी गरेकी हुन्।

यस्तो पहल गर्दै मन्त्री राणाले जोशीको रिहाईका निम्ति भूमिका निर्वाह गर्न आग्रह गरेकी थिइन्।

टेलिफोनबारे आरजु राणाले दिएको जानकारी यस्तो छ।

हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल जारी राखिरहेकै बेला आज बिहान कतारका विदेश राज्यमन्त्री डा.मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग फोनवार्ता गरेकी छु । मन्त्री डा. खुलाइफी कतार सरकारका तर्फबाट हमाससँगको शान्तिवार्ताका लागि प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता हुनुहुन्छ ।

हमासले आफ्नो नियन्त्रणमा रहेकामध्ये केहीलाई अपहरण मुक्त गर्न लागेको भन्ने समाचार आएपछि हमाससँग सम्पर्कमा रहेका र युद्धविरामका लागि मध्यस्थता गरिरहेका देशहरुलाई विपिनको रिहाइका लागि थप पहल गरिदिन अपिल गर्ने काम गरिरहेकी छु ।

यसै अन्तर्गत आज कतारका मन्त्री डा. खुलाइफीसँगको फोनवार्तामा पनि विपिनको रिहाइका लागि विशेष पहल गरिदिन थप आग्रह गरेँ । उहाँले हमास समूहलाई युद्धविराममा ल्याई बन्दीहरुलाई मुक्त गराउन कतार सरकारले पहल गरिरहेको जानकारी गराउँदै यस विषयमा छिट्टै नै सकारात्मक खबर आउने बताउनुभयो । यसबाट थप आशावादी भएका छौँ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close