भूकम्प अपडेट : एक कैदी घाइते, भोटेकोशीमा पहिरो

सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर आएको ६.१ म्याग्निच्यूडको भूकम्पले जिल्लामा सामान्य क्षति पुगेको विवरण आएको छ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार भाग्ने क्रममा लड्दा एक कैदीको हात भाँचिएको छ । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको थापाले जानकारी दिए।
यस्तै भोटेकोशी गाउँपालिका-३ दुगुनागढीमा पहिरो गएको जानकारी पाएको उनले बताए। यसैगरी इलाका प्रहरी कार्यालय कोदारीस्थित प्रहरी चौकीको भित्ता चर्किएको छ। ‘अन्यत्रको प्रहरी परिचालन गरी जानकारी लिने काम भइरहेको छ,’ प्रजिअ थापाले भने।
भूकम्पको अवधि छोटो भएको हुनाले त्यति क्षति नभएको अनुमान गरेको उनले बताए। ‘छोटो अवधि भएको हुनाले सामान्य असर पारेको हुनसक्छ’, उनले भने, ‘२०७२ को भूकम्पपछि घर निर्माण मापदण्ड पालना भएकाले पनि कम क्षति भएको हुनसक्छ।’
आफ्नो प्रतिक्रिया दिनुहोस