चन्द्रगढीमा सबैभन्दा धेरै कुहिरो, यस्तो छ ५ वटा सहरको भिजिविलिटी

तराईका विभिन्न क्षेत्रमा आज पनि हुस्सु र कुहिरो लागिरहेको छ । पूर्वदेखि पश्चिम तराईसम्मका क्षेत्रमा बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ ।

मौसमविद् हरिप्रसाद दाहालका अनुसार आज सबैभन्दा धेरै चन्द्रगढीमा कुहिरो लागेको छ । चन्द्रगढीको बिहान पौने ६ बजेको भिजिविलिटी ५० मिटर छ ।

विराटनगरको भिजिविलिटी १०० मिटर, धनगढीको २०० मिटर, सिमराको ४०० मिटर भिजिविलिटी रहेको छ । काठमाडौंको भिजिविलिटी पाँच किलोमिटर रहेको छ ।

न्यून भिजिविलिटीका कारण बिहानको समयमा तराई भूभागका  विमानस्थलमा विमान उडान तथा अवतरणमा समस्या हुनेसक्ने मौसमविद् दाहाल बताउँछन् ।

दुई हजार मिटरभन्दा तलको भिजिविलिटीमा विमान उडान तथा अवतरण गर्न कठिन हुन्छ ।

“दिउँसो भने कुहिरो र हुस्सु विस्तारै हट्नेछ,” उनले भने, “बिहान बाक्लो हुस्सु र कुहिरो लागे पनि घाम लागेपछि कम हुँदै जानेछ र मध्याह्नसम्म हट्नेछ ।”

भोलि पनि हुस्सु र कुहिरोको सम्भावना रहेको छ । जाडो कम नभएसम्म तराईमा हुस्सु र कुहिरोको सम्भावना यथावत रहने उनको भनाइ छ ।

न्यून तापक्रम, नगन्य मात्रमा मात्रै बादल लाग्नु र हावा कम चल्नु हुस्सु र कुहिरो लाग्नुको मुख्य कारण भएको मौसमविद्को भनाइ छ ।

यसैबीच, काठमाडौंको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस रहेको छ । बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् दाहालले जानकारी दिए ।

उनका अनुसार दिउँसो काठमाडौंको तापक्रम २० देखि २२ डिग्री सेल्सियसबीच रहनेछ । काठमाडौंको आज मौसम सफा रहनेछ ।

आज कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close