एक वर्षमा २७ सय चिकित्सक दर्ता, २३ सय विदेश पलायन

४ वर्षमा नेपालमा ८ हजार ६ सय २४ जना नयाँ चिकित्सक मेडिकल काउन्सिलमा दर्ता भए, ६ हजार ३ सय ६८ चिकित्सकले विदेश जान काउन्सिलबाट चारित्रिक प्रमाणपत्र लिए

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) महाराजगन्ज क्याम्पसबाट एमबीबीएस उत्तीर्ण गरेका विद्यार्थीमाथि गरिएको सर्वेक्षणमा शतप्रतिशतले विदेश जाने योजना बनाएको बताएका छन् । सर्वेक्षणमा सहभागी ४३ मध्ये ४१ जना (९५ प्रतिशत) ले विदेश जान परीक्षामा नाम दर्ता गराइसकेको पाइएको छ ।

 

सरकारद्वारा गठित चिकित्सक तथा स्वास्थ्यकर्मीको सेवासुविधा सुधारसम्बन्धी अध्ययन कार्यदलले आइतबार बुझाएको प्रतिवेदनले यस्तो तथ्य बाहिर ल्याएको हो । मुलुककै अब्बल शैक्षिक संस्था मानिएको आईओएमका मेडिकल विद्यार्थीको सोच र योजनाले मुलुककै समग्र स्वास्थ्य क्षेत्र र चिकित्सकको अवस्था दर्साउँछ ।

नेपाल मेडिकल काउन्सिलको तथ्यांकले पनि बर्सेनि विदेश पलायन हुने नेपाली चिकित्सकको संख्या बढ्दै गएको देखाउँछ । तथ्यांकअनुसार पछिल्ला ४ वर्षमा नेपालमा ८ हजार ६ सय २४ जना नयाँ चिकित्सक काउन्सिलमा दर्ता भए । ६ हजार ३ सय ६८ चिकित्सकले विदेश जान काउन्सिलबाट असल चारित्रिक प्रमाणपत्र (गुड स्ट्यान्डिङ सर्टिफिकेट) लिएका छन् । उनीहरूले विदेशमा थप अध्ययन र काम गर्नका लागि उक्त प्रमाणपत्र लिनुपर्ने अवस्था छ ।

चार वर्षको तथ्यांक हेर्दा नयाँ दर्ता भएकामध्ये करिब ७४ प्रतिशत चिकित्सक कामको खोजी र थप अध्ययनका लागि विदेश गए वा जाने योजनामा छन् । सन् २०२० मा ७ सय ६९ जना चिकित्सकले विदेश जान प्रमाणपत्र लिएकोमा २०२१ मा झन्डै दोब्बर १ हजार ३ सय २७ जनाले प्रमाणपत्र लिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close