पर्सा : कक्षा ९ की छात्रा सोनी गुप्ता बनिन् एक दिनका लागि प्रधानाध्यापक
पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ५ भौराटारस्थित नेपाल राष्ट्रिय सीताराम महतो माद्यामिक विद्यालयमामा शुक्रबार ५९ औं राष्ट्रिय बाल दिवस फरक तरिकाले मनाइए
वीरगन्ज,२९ भदौं :पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ५ भौराटारस्थित नेपाल राष्ट्रिय सीताराम महतो माद्यामिक विद्यालयमामा शुक्रबार ५९ औं राष्ट्रिय बाल दिवस फरक तरिकाले मनाइएको छ ।
उक्त विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा सोनी गुप्तालाई एक दिनका लागि प्रधानाध्यापक बनाएर उनकै अध्यक्षतामा बाल दिवसको कार्यक्रम मनाइएको हो ।
विद्यालयको महत्वपूर्ण काम बाहेक अरु सबै जिम्मेवारी दिएर सोनीलाई प्रधानाध्यापक बनाइएको थियो । एक दिनका लागि प्रधानाध्यापक बनेकी सोनीकै अध्यक्षतामा विद्यालय परिसरमा हाजिरी जवाफ प्रतियोगिता आयोजना गरियो । उक्त प्रतियोगितामा कक्षा ६ देखि कक्षा ११ सम्मका गरि २४ जना विद्यार्थीले भाग लिएका थिए ।
यस्तै बाल दिवसकै अवसरमा बालकक्षा देखि कक्षा ५ सम्मका बालबालिकाहरुलाई उनीहरुको रुचि अनुसार विभिन्न बालमैत्री खेल पनि खेलाइएको थियो । प्रतियोगितका विजेताहरुलाई एक दिनका लागि प्रधानाध्यापक बनेकी सोनीले नै मेडल तथा प्रमाणपत्र वितरण गरिन् ।
कार्यक्रमका प्रमुख अतिथी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अशोक प्रसाद कुशवाहाले बालबालिका समाज र राष्ट्रकै लागि अमूल्य गहनाको रुपमा भएको बताए । उनले विद्यालयमा बालक र बालिकाबिच गुणस्तरीय शिक्षा दिन शिक्षकहरुलाई आग्रहपनि गरे ।
कार्यक्रममा प्रधानाध्यापक सन्जय कुमार महतो , विद्यालय व्यवस्थापन समितिका सदस्य, शिक्षक ,शिक्षिका , कर्मचारी, विद्याथर्थी लगायतको उपस्थिती रहेको शिक्षक संदीप कुमार जैसवालले जानकारी गराए ।