स्कटल्यान्डमाथि नेदरल्यान्ड्सकाे सानदार जित, विश्वकपमा छनाेट

आईसीसी विश्वकप छनोटको 'सुपर सिक्स' खेलमा स्कटल्यान्डले दिएकाे २ सय ७८ रनकाे लक्ष्य नेदरल्यान्ड्सले ५ विकेट गुमाएर ४२ ओभर ५ बलमै भेटायाे

काठमाण्डाै – स्कटल्यान्डमाथि सानदार जित निकाल्दै नेदरल्यान्ड्स आईसीसी एकदिवसीय विश्वकपमा छनाेट भएकाे छ ।

आईसीसी विश्वकप छनोटको ‘सुपर सिक्स’ खेलमा स्कटल्यान्डले दिएकाे २ सय ७८ रनकाे लक्ष्य नेदरल्यान्ड्सले ५ विकेट गुमाएर ४२ ओभर ५ बलमै भेटायाे । विश्वकपमा छनाेट हुनका लागि नेदरल्यान्ड्सले स्कटल्यान्डले दिएकाे २ सय ७८ रनकाे लक्ष्य ४४ ओभरमा पूरा गर्नुपर्ने थियाे ।

नेदरल्यान्ड्सका लागि बास दी लिडेले शतक बनाए । उनी ९२ बलमा १ सय २३ रन बनाएर आउट भए । यस्तै विक्रमजित सिंहले ४० र सकिब जुल्फिकरले नटआउट ३३ रन बनाए । बलिङतर्फ स्कटल्यान्डका माइकल लिस्कले २ विकेट लिए ।

जिम्बावेकाे क्विन्स स्पाेर्ट्स क्लबमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे स्कटल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७७ रन बनायाे । स्कटल्यान्डका लागि ब्रान्डन म्याकमुलेनले शतक बनाए । उनी १ सय १० बलमा १ सय ६ रन बनाएर आउट भए । यस्तै कप्तान रिची बेरिङ्टनले ६४ र टाेमस म्याकइनटाेशले नटआउट ३८ रन बनाए । बलिङतर्फ नेदरल्यान्ड्सका बास दी लिडेले ५ विकेट लिए ।

याेसँगै ‘सुपर सिक्स’ बाट विश्वकपमा पुग्ने दुई वटा टाेलीकाे टुङ्गाे लागेकाे छ । श्रीलङ्का यसअघि नै विश्वकपमा छनाेट भइसकेकाे छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close