आइपिएल बीचमै रोकिन सक्ने जोखिम
काठमाडौं,५ बैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) को २०२२ को सिजन पनि बीचमै रोकिन सक्ने जोखिम बढेको छ । पछिल्लो समय दिल्ली क्यापिटल्सका खेलाडीमा कोरोनाभाइरस पोजिटिभ देखिएको छ । इएसपीएन क्रिकइन्फोका अनुसार पछिल्लो पटक थप २ जना खेलाडी पोजेटिभ देखिएका छन् । एक खेलाडी विदेशी भएको बताइएको छ ।हाल भारतमा बढ्दै गएको कोरोना संक्रमणको संख्या आईपीएलमा समेत देखिएको हो ।
हालै दिल्ली क्यापिटल्सका एक अफिसियलमा कोरोना देखिएको थियो । त्यसलगत्तै अहिले २ खेलाडीमा समेत कोरोना संक्रमण देखापरेको छ । यसले प्रतियोगिता बीचमै रोकिन सक्ने जोखिम बढाएको छ । गत सिजन पनि कोरोना संक्रमणका कारण प्रतियोगिता बीचमै रोकिएको थियो । पछि लिगको दोस्रो चरण युएइमा गरिएको थियो ।पहिलो पटक दिल्लीको फिजियो प्याट्रिक फरहार्टमा कोरोना पोजिटिभ देखिएको थियो । अब, उनीसँगै एक खेलाडीमा समेत कोरोना देखिएको हो । उनको नाम भने सार्वजनिक गरिएको छैन । अब, दिल्लीले आफ्नो खेल पञ्जाब किंग्सविरुद्ध खेल्दै छ ।
खेलअघि टिम पुणे पुग्नु पर्ने थियो । तर, टिम हाल होटलमै रहेको छ । कोरोना देखिएसँगै सबै खेलाडीलाई होटेलमै राखिएको र दुई दिनमा कोरोना रिपोर्ट आउने जनाइएको छ ।जारी आईपीएलमा दिल्लीले पाँच खेल खेल्दा दुई जित र तीन हारका साथ चार अंक जोडेर आठौं स्थानमा छ । जारी लिगमा ६ खेल खेल्दै १२ अंक जोडेको गुजरात टाइटन्स शीर्षस्थानमा छ ।
अघिल्लो सिजनको आईपीएल कोरोनाकै कारण संयुक्त अरब इमिरेट्स (यूएई)मा सारिएको थियो । भारतमा बन्द रंगशालामा गराउँदा समेत कोरोना संक्रमण देखिन थालेपछि खेल यूएईमा सारिएको हो । प्रतियोगिता अन्तर्गत आज(सोमबार) एक खेल हुँदै छ । बेलुकी हुने खेलमा राजस्थान रोयल्स र कोलकता नाइट राईडर्स भिड्दैछन् ।