घर जग्गा कारोबारमा देखिएको शिथिलतालाई हटाउँछौं : प्रकाशमान सिंह

काठमाडौं : शहरी विकासमन्त्री प्रकाशमान सिंहले घर जग्गा कारोबारमा देखिएको शिथिलतालाई हटाउने प्रतिबद्धता जनाएका छन्। शहरी विकास मन्त्रालय सिंहदरबारमा शुक्रबार जग्गा आवास विकासमा देखिएका समस्या समाधानका लागि सुझाव दिन गठन गरिएको कार्यदलको प्रतिवेदन बुझ्दै मन्त्री सिंहले घर जग्गा कारोबारलाई थप व्यवस्थित बनाउने  प्रतिबद्धता जनाएका हुन्।

कार्यदलको प्रतिवेदनमा भएका सुझावहरूलाई मन्त्रालयको तर्फबाट कार्यान्वयनमा लाने मन्त्री सिंहले  बताए। उनले घर जग्गा तथा आवास क्षेत्रले नेपालको अर्थतन्त्रमा योगदान पुर्याएको भन्दै मन्त्रालयको तर्फबाट यसमा नीतिहरू बनाउँदा थप ध्यान दिने जनाए । सरकार, निजी क्षेत्रको अन्तरक्रिया तथा व्यक्तिगत रूपमा कार्यदलले बुझाएको प्रतिवेदनले नेपालको घर जग्गा तथा आवासको कारोबारलाई उकास्न मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे।

मध्यम र  निम्न वर्गका परिवारलाई पनि ‘हाउजिङ’ आवासमा समेट्न मन्त्रालयले आवश्यक पहल गर्ने उनको भनाइ छ । शहरी विकास मन्त्रालयका भवन, आवास तथा योजना महाशाखाका प्रमुख दिलीप भण्डारीको संयोजकत्वमा  गठन भएको कार्यदलले जग्गा, आवास विकाससँग सम्बन्धित व्यवस्था अध्ययन गरी पुनरावलोकन गर्नुपर्ने विषय पहिल्याइ सुधारसहितको प्रतिवेदन मन्त्रालयलाई बुझाएको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close