अर्बाैँ रुपैयाँ तिरेर किनेका चिनियाँ जहाज अलपत्र, समितिले विवरण माग्याे
सिंहदरबारमा बसेको समितिको बैठकले चिनियाँ जहाजबारे विवरणसहित समितिमा उपस्थित हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन
काठमाण्डाै – प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले चिनियाँ जहाजबारे सम्पूर्ण विवरणसहित समितिमा उपस्थित हुन सरकारलाई निर्देशन दिएकाे छ । आज बिहीवार सिंहदरबारमा बसेको समितिको बैठकले चिनियाँ जहाजबारे विवरणसहित समितिमा उपस्थित हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको हो ।
बैठकको निर्णय सुनाउँदै समिति सभापति राजकिशोर यादवले नागरिक उड्डयनसम्बन्धी दुई वटा विधेयकको बारेमा पनि आउँदाे समितिको बैठकमा पूर्ण जानकारीसहित उपस्थित हुन निर्देशन दिनुभयो । सभापति यादवले चिनियाँ जहाज कसरी नेपाल वायु सेवाको भाग बन्यो भन्नेबारेमा पनि मन्त्रालयले जानकारी गराउनुपर्ने बताउनुभयो ।
आन्तरिक उडानमा निगमलाई अब्बल र आक्रामक बनाउन २०७१ सालमा सरकारले अनुदान र ऋण गरी सात अर्ब ४६ करोड रुपैयाँ लागतमा छ वटा चिनियाँ जहाज खरिद गरेको थियो । यो लगानीमा चीन सरकारको तीन अर्ब २९ करोड रुपैयाँ बराबरको अनुदान सहायता रहेको छ । एउटा जहाज भने २०७६ सालमा नेपालगञ्जमा दुर्घटनामा परेर काम नलाग्ने भइसकेको छ । बाँकी पाँच वटा जहाज नेपालको भूगोलमा उडान गर्नसक्ने अवस्थामा छैनन् भने चिनियाँ पाइलट नै आवश्यक पर्ने भएपछि जहाज थन्किएका छन् ।
अरू जहाजको तुलनामा चिनियाँ जहाज उडाउँदा चार गुणा महँगो पर्न जान्छ । पाटपुर्जा ७५ प्रतिशत महँगा छन् । जहाजको बिमा, पार्किङ शुल्क, डिप्रिसिएसन रकमलगायत जोड्दा अर्बाैँ रुपैयाँ नोक्सानी भइसकेको छ । निगमले चिनियाँ जहाज बिक्रीका लागि टेन्डर गरे पनि बिक्री भएका छैनन् ।