असार १५ गतेसम्म ८० हजार मेट्रिक टन मल उपलब्ध हुने मन्त्री यादवको दाबी

काठमाडौं,३१ जेठ । कृषि तथा पशुपक्षी विकास मन्त्री महिन्द्रराय यादवले आउँदो असार १५ गतेसम्म ८० हजार मेट्रिक टन मल उपलब्ध हुने दाबी गर्नुभएको छ ।कृषि मन्त्रालयको विनियोजित बजेट सम्बन्धमा प्रतिनिधि सभामा भइरहको मन्त्रालयगत छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले साल्ट ट्रेडिङले ठेक्का लगाएको मल असार १५ गतेसम्म आइपुग्ने बताउनुभएको हो ।

यस्तै सरकार–सरकार ९जीटूजी० प्रक्रियामार्फत भारतसँग खरिद गर्ने मल पनि चाँडै ल्याउने पहल भइरहेको उहाँले बताउनुभयो । यस्तै रासायनिक मलको सट्टा नानो युरिया मल आयात भइरहेको भन्दै मन्त्री यादवले त्यो प्रयोग गर्न अनुरोध गर्नुभयो ।उहाँले सरकारले मल कारखाना निर्माणको विषय चाँडै टुङ्गो लगाउने पनि बताउनुभयो । नेपालमा मल आयात गर्दा सँगै अभाव भइरहेकोले यो समस्याको स्थायी समाधान मल कारखाना नै भएकोले मल कारखाना खोल्ने कुरालाई सरकारले प्राथमिकतामा राखेको उहाँको भनाइ छ ।

सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले यसैपालिबाट किसान पेन्सन सुरु गर्ने प्रयास हुने बताउनुभयो । किसानले जति उत्पादन हुन्छ त्यसको केही भाग पेन्सनका लागि राख्नुपर्ने र सरकारले त्यसमा १० प्रतिशत थप्ने उहाँले बताउनुभयो ।यस्तै सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा मन्त्री यादवले बेमौसमी वर्षका कारण पीडित किसानले सरकारी राहत नपाउनुमा दोषी आफू नभएको दाबी गर्दै गृह मन्त्रालयले समयमा भुक्तानी नदिएको आरोप लगाउनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close