मल अभावको असार मसान्तसम्म हल हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयलको दाबी
वीरगन्ज,२५ जेठ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हालको मल अभावको अवस्था असार मसान्तसम्म हल हुने दाबी गरेको छ ।एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले विभिन्न प्रक्रियाबाट मल आपूर्तिका लागि प्रयास भइरहेको जनाएको हो । मल खरिदका लागि कृषि सामग्री कम्पनी, साल्ट ट्रेडिङ र सरकारले जीटूजीबाट गरेको पहलबाट मल ल्याउन प्रयास भइरहेको दाबी मन्त्रालयको छ ।
‘असार मसान्तसम्म कुल एक लाख ९२ हजार मेट्रिकटन मल आइपुग्छ,’ मन्त्रालयले विज्ञप्तिमा भनेको छ, ‘यसमा भारतसंगको जीटूजीको ५० हजार मेट्रिकटन युरिया र ३० हजार मेट्रिकटन डिएपी पनि छ ।’आपूर्तिको क्रममा रहेकामा साल्ट ट्रेडिङले खरिद गरेको मध्ये २० हजार मेट्रिकटन डिएपी, २२ हजार मेट्रिकटन युरिया छ । यस्तै कृषि सामग्रीले खरिद गरेको मध्येबाट ३० हजार मेट्रिकटन युरिया र २० हजार मेट्रिकटन डिएपी असारको दोस्रो साताबाट नेपाल भित्रिने मन्त्रालयको दाबी छ ।