कालीगण्डकीको बिजुली पनि भारतमा निर्यात सुरु औसत प्रतियुनिट झन्डै साढे ११ रुपैयाँमा बिक्री

काठमाडौँ,२२ जेठ । नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको १ सय ४४ मेगावाट क्षमताको कालीगण्डकी ’ए’ विद्युत् गृहबाट उत्पादित विद्युत् भारतमा निर्यात सुरु भएको छ ।नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी विद्युत् गृहबाट उत्पादित विद्युत् गएराति १२ बजेदेखि निर्यात सुरु गरेको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिनुभयो । प्राधिकरणले यस अघि बिहीवारदेखि त्रिशूली र देवीघाट जलविद्युत् गृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक झण्डै ३९ मेगावाट विद्युत् निर्यात गरिरहेको थियो ।

कालीगण्डकीको पनि सुरु भएसँगै प्राधिकरणले १ सय ७७ मेगावाट भन्दा धेरै विद्युत् भारत निर्यात गरेको छ । कालीगण्डकी ’ए’ को १ सय ४० मेगावाट, त्रिशूलीको २३ दशमलव २ मेगावाट र देवीघाटको १४ दशमलव ५ मेगावाट विद्युत् भारत निर्यात भएको हो ।वर्षातसँगै नदीनालामा पानीको बहाव बढेर विद्युतगृहहरु पूर्ण क्षमतामा चल्न थालेपछि आन्तरिक रूपमा खपत गरी बाँकी रहेको विद्युतलाई प्राधिकरणले भारत निर्यात गरेको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गएरातिदेखि निर्यात भएको विद्युतको औसत बिक्री मूल्य प्रतियुनिट ७ दशमलव १८ भारु अर्थात ११ रुपैयाँ ४८ पैसा रहेको जानकारी दिनुभयो ।

भारतीय ऊर्जा एक्सचेन्ज (आईईएक्स) मा २४ घण्टालाई १५÷१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ । त्यसैले हरेक ब्लकको मूल्य फरक फरक हुने गरेको छ ।नेपालले भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा प्रतिस्पर्धी दरमा ३ सय ६४ मेगावाटसम्म विद्युत् बिक्री गर्न अनुमति पाएको छ ।

केही समयअघि भारतबाट बिजुली नपाएर औद्योगिक ग्राहकको लाइन काटेको प्राधिकरणले अहिले फेरि भारतलाई बिजुली बेच्न थालेको हो ।वर्षायाममा नेपालको बिजुली खपत नभएर खेर जाने अवस्था भए पनि हिउँदमा भने भारतबाटै आयात गर्नुपर्ने अवस्था छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close