बङ्गलादेशमा मूल्यवृद्धि १३ वर्षयताकै उच्च विन्दुमा
२९, साउन २०८१
बङ्गलादेशमा मूल्यवृद्धि १३ वर्षयताकै उच्च विन्दुमा पुगेको छ । गएको जुलाई महिनामा बङ्गलादेशको मूल्यवृद्धि ११ दशमलव ६६ प्रतिशत पुगेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
खासगरी खाद्य पदार्थको उच्च मूल्यका कारण समग्र मूल्यवृद्धि उच्च देखिएको बङ्गलादेश ब्युरो अफ स्ट्याटिस्टिक्स (बीबीएस) ले उल्लेख गरेको छ । जुलाईमा खाद्यान्न समूहको मूल्यवृद्धि १४ दशमलव १० प्रतिशतले बढेको छ जुन कम्तीमा १० वर्षपछिकै सबैभन्दा धेरै हो । जुन महिनामा भने खाद्यान्नको मूल्यवृद्धि १० दशमलव ४२ प्रतिशत थियो ।
समग्रमा बङ्गलादेशमा यो वर्षको औसत मूल्यवृद्धि ९ दशमलव ७३ प्रतिशतमा पुगेको छ । यो आर्थिक वर्षमा बङ्गलादेशले साढे ७ प्रतिशतको मात्रै मुल्यवृद्धि अनुमान गरेको थियो ।
गएको जुन महिनादेखि शुरू भएको सरकारविरोधी आन्दोलनका कारण उत्पादन, ढुवानी र आयातमा परेको असर तथा समग्र अर्थतन्त्रमा देखिएको मन्दीले मूल्यवृद्धि चर्को भइरहेको खबरमा उल्लेख छ ।