राजस्थानः पैगम्बर मोहम्मद विवादका कारण एक हिन्दूको शिरोच्छेदन भएपछि तनाव
भारतको राजस्थानमा एक व्यक्तिको हत्या भएपछि उक्त राज्यमा धार्मिक तनाव उत्पन्न भएको छ।
लुगा सिलाउने काम गर्दै आएका कन्हैया लालको उदयपुर जिल्लामा दुई मुस्लिम युवकले हत्या गरेका थिए। उनीहरूले लालको हत्या गर्दा खिचेको भिडिओ अनलाइनमा पनि राखेका थिए।
पैगम्बर मोहम्मदबारे नेताको विवादास्पद भनाइलाई समर्थन गरेको प्रतिशोध लिन ती व्यक्तिको हत्या गरिएको उनीहरूले दाबी गरेका छन्।
घटनापछि राज्यमा सरकारले इन्टरनेट सेवा बन्द गर्नुका साथै धेरै मानिसहरूलाई भेला हुनबाट रोक लगाएको छ।
भिडिओमा देखिएका दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
प्रधानमन्त्रीलाई पनि धम्की
अर्को एउटा भिडिओमा उनीहरूले उक्त हत्याबारे अभिमानपूर्वक कुरा गरेको सुनिन्छ।
भिडिओमा उनीहरूले खुँडा नचाउँदै प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि धम्की दिएको देखिन्छ।
हत्याको भिडिओ “निकै डरलाग्दो” रहेको भन्दै राजस्थानका एक उच्च प्रहरी अधिकारीले सञ्चारमाध्यमलाई भिडिओ प्रसारण नगर्न भनेका छन्।
राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले मानिसहरूलाई शान्त र संयमित रहन आह्वान गरेका छन्।
भारतको सङ्घीय सरकारले देशको प्रमुख अनुसन्धान निकायको रूपमा रहेको न्याश्नल इन्भेस्टिगेटिभ एजेन्सीलाई घटनाको अनुसन्धान गर्न आदेश दिएको छ।
ग्राहकको भेषमा आक्रमणकारी
हत्या गर्नुअघि ती दुई व्यक्ति ग्राहकको रूपमा कन्हैया लालको पसलमा प्रवेश गरेका थिए। उनीहरूको नाप लिँदै गर्दा उनीमाथि आक्रमण गरिएको थियो।
पीडितले आफ्नो सामाजिक सञ्जालमा भारतीय जनता पार्टीका पूर्वप्रवक्ता नूपुर शर्माप्रति समर्थन जनाउँदै पोस्ट गरेको दाबी गरिएको छ।
शर्माले पैगम्बर मोहम्मदबारे गत महिना विवादास्पद अभिव्यक्ति दिएकी थिइन्।
उनको टिप्पणीले धेरै इस्लाम देशहरूसँग भारतको कूटनीतिक विवाद निम्त्याएको थियो। कतिपय देशहरूले भारतलाई कूटनीतिक विरोध जनाएका थिए।
लगत्तै भाजपाले शर्मालाई पार्टीबाट निलम्बन गरेको थियो।
धार्मिक प्रदर्शनको रूप
विवादले भारतमा धार्मिक प्रदर्शनको रूप लियो। प्रदर्शनकारीहरूले सार्वजनिक सम्पत्तिमा ढुङ्गामुढा गरेपछि प्रदर्शन हिंसात्मक भएको थियो।
द इन्डियन एक्सप्रेस पत्रिकाका अनुसार हत्या हुनुभन्दा तीन हप्ताअघि धार्मिक भावनामा चोट पुर्याएको आरोपमा प्रहरीले कन्हैयालाई पक्राउ गरेको थियो।
रिहा भएपछि आफूलाई ज्यान मार्ने धम्की आएको भन्दै उनले प्रहरीसँग सुरक्षा माग गरेका थिए।
त्यसपछि प्रहरीले शान्ति कायम गर्ने उद्देश्यले केही हिन्दू र मुस्लिम अगुवाहरूसँग बैठक गरेको थियो।
त्यसपछि कन्हैयाले कसैलाई पनि कारबाही आवश्यक नभएको बताएको एक प्रहरी अधिकारीलाई उद्धृत गर्दै उक्त पत्रिकाले लेखेको छ।
भर्त्सना
उदयपुरको घटनाको भारतका नाम चलेका राजनीतिक नेताहरूले भर्त्सना गरेका छन्।
भाजपा नेत्री तथा राजस्थानको पूर्वमुख्यमन्त्री वसुन्धरा राजेले गहलोत आबद्ध कंग्रेस पार्टीलाई दोष दिएकी छन्।
भाजपाका कतिपय नेताहरूले हत्याको विरोधमा राजधानी नयाँ दिल्लीमा र्याली गर्ने बताएका छन्।
हत्याले आफू “स्तब्ध” भएको भन्दै कंग्रेस नेता राहुल गान्धीले आक्रमणकारीहरूलाई तत्काल कारबाही गर्न माग गरेका छन्।
नाम चलेका मुस्लिम संस्थाहरूले पनि हत्याको भर्त्सना गरेका छन्।
अल इन्डिया मुस्लिम पर्सनल ल बोर्डले घटनालाई “भर्त्सनायोग्य” भएको बताएको छ।
उक्त संस्थाले घटना भारतको कानुन र इस्लाम धर्मग्रन्थहरूविरुद्ध भएको जनाएको छ।
“कसैलाई पनि कानुन हातमा लिन छुट छैन। कसैलाई अपराधी घोषणा गर्ने र हत्या गर्ने काम अत्यधिक भर्त्सनायोग्य कृत्य हो,” बोर्डले वक्तव्यमा भनेको छ।