युक्रेन-रुस युद्ध: बेलारुसलाई इस्कान्डर-एम नामक पारमाणविक अस्त्र बोक्ने क्षेप्यास्त्र दिने पुटिनको घोषणा
रुसले बेलारुसलाई छोटो दूरीका पारमाणविक अस्त्र प्रणाली प्रदान गर्ने राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन्।
उनले इस्कान्डर-एम नामक उक्त प्रणालीले “परम्परागत र पारमाणविक दुवै प्रकारका बलिस्टिक र क्रुज क्षेप्यास्त्रहरू प्रहार गर्न सक्ने” बताए।
गत फेब्रुअरीमा २५ मा राष्ट्रपति पुटिनले युक्रेनमा आक्रमण गर्ने निर्णय गरेपछि रुस र पश्चिमा देशहरूबीच तनाव बढेको छ ।
पुटिनले त्यतिबेलादेखि नै थुप्रै सन्दर्भमा पारमाणविक अस्त्रका बारेमा बोलेका थिए जसलाई केहीले पश्चिमी देशलाई हस्तक्षेप नगर्न दिइएको चेतावनीको रूपमा व्याख्या गरेका छन्।
पुटिनले सेन्ट पिटर्सबर्गमा रुसले बेलारुसी लडाकु विमानहरूलाई पारमाणविक अस्त्र बोक्न सक्ने गरी परिमार्जन गर्न मद्दत गर्ने पनि बताए।
युक्रेनमा के भइरहेको छ?
शनिवार युक्रेनले हप्तौँको भीषण लडाइँपछि रुसी सेनाले सेभेरोडोनेट्स्कलाई “पूर्ण रूपमा कब्जा गरेको” बताएको छ।
रुसले पूवी युक्रेनको सो सहर नियन्त्रणमा लिएपछि लगभग लुहान्स्क र डोनेट्स्क क्षेत्रका थुप्रै भूभाग नियन्त्रणमा राख्न सक्छ।
डोनेट्स्क र लुहान्स्क क्षेत्रलाई डोन्बास भनिन्छ जुन एउटा ठूलो औद्योगिक क्षेत्र पनि हो।
शनिवार साँझको भिडिओ सम्बोधनमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले कब्जा गरेका “आफ्ना सबै सहरहरू” फिर्ता लिने दाबी गरे।
तर उनले रुससँगको युद्ध भावनात्मक रूपमा कठिन चरणमा प्रवेश गरेको र अझै कति प्रहार र नोक्सानी हुन्छ भन्ने यकिन नभएको बताए।
रातभर रुसले युक्रेनको उत्तर र पश्चिममा क्षेप्यास्त्र प्रहार गरेको छ।
किएभको पश्चिममा रहेको सर्नी सहरमा कम्तीमा तीन जनाको मृत्यु भएको र थप मानिस भग्नावशेषमा पुरिएको हुन सक्ने स्थानीय अधिकारीले बताएका छन्।
केही रकेट बेलारुसबाट प्रहार गरिएको युक्रेनले जनाएको छ।
बेलारुसले रुसलाई युक्रेन युद्धमा सहयोग पुर्याएको छ तर त्यहाँका सेना आधिकारिक रूपमा द्वन्द्वमा सहभागी भएको छैन।
युक्रेनको गुप्तचर सेवाले क्षेप्यास्त्र प्रहार गर्नु बेलारुसलाई युद्धमा होम्न क्रेमलिनले गरेको प्रयासको अंश भएको बताएको छ।
पश्चिमा देशले कस्तो सङ्केत दिएका छन्?
रुसले पश्चिमी कूटनीतिक सम्मेलन हुनुभन्दा एक साताअघि सेभेरोडोनेट्स्कको कब्जा गरेको छ।
अमेरिकी राष्ट्रपति जो बाइडन नेटो वार्तापछि जी सेभेन शिखर सम्मेलनको लागि जर्मनी जाँदै छन्।
केही महिनायता पश्चिमी गठबन्धनले तनाव र थकानको सङ्केत देखाएको छ तर शनिवार यूकेका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनले रुससँगको युद्ध जित्न सक्ने बताए।
“अहिले युक्रेनको साथ छोड्ने समय होइन,” उनले भने।
कहिले दिन्छ रुसले अस्त्र?
शनिवार प्रसारण भएको बेलारुसी समकक्षी एलेक्जेन्डर लुकाशेन्को सँगको बैठकमा पुटिनले भने: “हामीले निर्णय गरेका छौँ: अबको केही महिनामा हामी बेलारुसलाई इस्कान्डर-एम नामक रणनीतिक क्षेप्यास्त्र प्रणाली हस्तान्तरण गर्छौँ।”
प्रणाली पठाउनेबारे सम्पूर्ण प्रक्रिया दुवै देशको रक्षा मन्त्रालयले हेर्ने उनले बताए।
नेटो सदस्य लिथुआनिया र पोल्यान्ड बीचको सानो रुसी क्षेत्र कलिनिन्ग्रादमा इस्कान्डर क्षेप्यास्त्र यसअघि नै तैनाथ गरिएको छ।
दुई राष्ट्रपतिहरूले कलिनिन्ग्रादमार्फत आयातनिर्यात रोक्ने लिथुआनियाको निर्णयको बारेमा पनि छलफल गरे। यस कदमप्रति मस्को रुष्ट छ।
बेलारुसी राष्ट्रपतिले लिथुआनियाको निर्णय एक किसिमको “युद्धको घोषणा” भएको र त्यो “अस्वीकार्य” भएको बताए।
स्टिल र केही अन्य रुसी सामानहरू युक्रेनमा रुसको आक्रमणका कारण लगाइएको ईयू प्रतिबन्धहरू अन्तर्गत पर्छन्।
लिथुआनियाले कलिनिन्ग्रादमा “नाकाबन्दी” लगाइएको रुसी आरोपको खण्डन गर्दै उक्त मार्गमा सामान्य रुसी ढुवानी मार्गको एक प्रतिशत मात्र प्रभावित भएको जनाएको छ।