अमेरिकाको एक विद्यालयमा गोली प्रहार हुँदा २१ जनाको मृत्यु
काठमाडौं, ११ जेठ । अमेरिकाको टेक्सस राज्यमा एक विद्यालयमा गोली प्रहार हुँदा २१ जनाको मृत्यु भएको छ ।टेक्ससको एक प्राथमिक विद्यालयमा १८ वर्षीय एक युवकले अन्धाधुन्ध गोली प्रहार गर्दा कम्तिमा १८ जना बालकालिका र ३ शिक्षकसहित २१ जनाको मृत्यु भएको छ। टेक्ससको रोब इलिमेन्टरी विद्यालय नजिकै गाडी पार्क गरेर विद्यालयमा प्रवेश गरेका साल्भाडोर रामोस नामका १८ वर्षीय युवकले ह्याण्डगन र राईफलबाट अन्धाधुन्ध गोली प्रहार गरेका हुन् ।आक्रमणकारी युवक पनि प्रहरी कारबाहीमा मारिएका छन्। घटनाप्रति दुःख व्यक्त गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले सामान्य चेतना प्रयोग गरेर बन्दुकमाथि प्रतिबन्ध लगाउने विधेयक अघि बढाउन प्रतिनिधिसभाका सांसदहरूलाई आग्रह गर्नुभएको छ । कसैले आफ्नो बच्चा गुमाउनु भनेको उसको मुटु झिक्नु सरह हो भन्दै बाइडेनले आफू यस्ता घटना सुन्दा सुन्दा थकित र बिरामी भईसकेको बताउनुभएको छ।अमेरिकामा वर्षेनी हुने गरेको गोलीकाण्डमा २ सय बढीको मृत्यु हुने गरेको छ । जसमा अधिकांश गोलीकाण्ड विद्यालय र कलेजहरुमा हुने गरेका छन् । यो घटनाको सामाजिक सञ्जालमा व्यापक निन्दा भएको छ ।अमेरिकाको भ्वाइलेन्स आर्काइभको तथ्यांक अनुसार यो वर्ष मात्रै अमेरिकाका विभिन्न शहरमा भएका त्यस्तै गोलीकाण्डमा २ सय १२ जनाको ज्यान गईसकेको छ ।